२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेश : कोरोना विरुद्ध उच्च सतर्कता

सुदूरपश्चिम प्रदेश : कोरोना विरुद्ध उच्च सतर्कता


महेन्द्रनगर-भारतका विभिन्न ठाउँमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ ।

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार बिहान मात्रै १० हजारभन्दा बढी नेपालीहरु घर फर्किएका छन् । घर फर्किनेहरुका लागि सुदूरपश्चिम प्रदेश सरकार, नेपाली सेना, भीमदत्त नगरपालिकालगायतका निकायले गड्डाचौकीमा स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाएका छन् ।

नेपाली सेनाका तर्फबाट श्रीसिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजंग मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ । “बिहान एक्कासी घर फर्किनेको भिड बढेपछि स्वास्थ्य परीक्षण गर्नै सकसको स्थिती सिर्जना भएपनि हामीले त्यसको व्यवस्थापन ग¥यौं,” गुल्मपति सेनानी मल्लले भने, “स्वास्थ्य परीक्षणमा अहिलेसम्म केही मानिसमा समान्य ज्वरो देखिएपनि अरु समस्या छैन ।” सीमा क्षेत्रमा उच्च सर्तकता अप्नाउँदै सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक रुपमा खटाइएको छ ।

बिहान ज्वरो नाप्ने मेसिनको अभाव देखिएपनि तत्काल प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका पहलमा गड्डाचौकीमा खटिएको स्वास्थ्यकर्मीको टोलीलाई थप दुई थान इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराइएको छ ।

त्यसैगरी सीमा नाकामा कञ्चनपुर उद्योग बाणिज्य संघले पनि जनचेतनामूलक कार्यक्रमसहितको माइकिङ्ग गरिरहेको छ । “ज्वरो बढी देखिए हाम्रै निगरानीमा चिकित्ससहितले सेवा प्रवाह गरिएको छ,” सेनानी मल्लले भने, “थप शंका लागे एम्बुलेन्समा महाकाली अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डमा राख्ने प्रबन्ध मिलाइएको छ ।”

कोभिड–१९ रोकथामका लागि बृहत् तयारी थालेका छौंः मुख्यमन्त्री भट्ट


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक पूर्वतयारी थालिएको बताएका छन् । शनिबार पश्चिमी सीमा नाका गड्डाचौकीको अवलोकन गर्दै उनले ‘हेल्थ डेस्क’मा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षित गर्न कसरी व्यवस्थित गर्ने भनेर तयारी भइरहेको बताए ।

“संसारभरि फैलिएको कोरोना भाइरसको रोकथामका लागि आवश्यक सामग्रीको अभाव छ, सङ्घीय सरकारसँग समन्वय गरी अपुग सामग्रीको व्यवस्था मिलाइने छ । आवश्यक औषधिका लागि अप्ठ्यारो छैन”, उनले भने ।

कैलाली र कञ्चनपुरका जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्र भएकाले बढी बृहत तयारी गरिएको उनको भनाइ छ । कोरोनाको संक्रमण देखिए त्यसलाई व्यवस्थित गर्न तराई र पहाडी जिल्लामा क्वारेन्टाइन र आइसोलेसन कक्ष स्थापना गरिएको उनले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ