काठमाडौ–पछिल्लो समय नेपालमा कोभिड एक जनाबाट अर्को जनामा सर्ने दर विश्वमै खराब अवस्थामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा जानकारी दिइएको छ ।
व्रिफिङ्गमा अहिले एक जना संक्रमितले दुई जनामा सारेको पाइएको डा. अर्चना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अघिल्लो हप्ताको तुलनामा नेपालमा २ सय २८ प्रतिशतले संक्रमण दर बढेको छ । जुन छिमेकी देश भारतमा जत्तिकै रहेको उनको भनाइ छ । ‘भारतमा जस्तै संक्रमणको दर माथि गइरहेको छ,’ उनले भनिन्, ‘भारतमा भन्दा नेपालमा टेष्ट पोजेटीभ रेट बढी देखिएको छ ।’
संक्रमित अनुपातमा कोभिडको पहिलो वेव भन्दा दोस्रो खराब देखिदै आएको उनको भनाइ छ । ‘जसरी भारतमा मृत्युदर बढेको देखिन्छ । हाम्रोमा पनि त्यस्तै छ,’ उनले भनिन्, ‘मृत्यु हुनेको संख्या चाडो चाडो माथि गइरहेको छ ।’
पछिल्लो समय नेपालमा बढ्दै गएको संक्रमण दर नरोकिने हो भने अबको एकदेखि तीन महिनामा नै पहिलो वेबको जति संक्रमित देखिने र दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने उनको दावी छ । ‘नेपालको संक्रमण वृद्धि दर विश्वकै उच्च तहमा पुगेको छ, यही रेसियोमा संक्रमण दर बढेमा दैनिक १ सय ४९ जनासम्म गुमाउनुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘हामी गम्भीर परिस्थितीमा छौ ।’