२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड–१९ संक्रमणमुक्त भएका वीरगञ्जका तीन जनामा म्यूकोर्माइकोसिस पुष्टि

कोभिड–१९ संक्रमणमुक्त भएका वीरगञ्जका तीन जनामा म्यूकोर्माइकोसिस पुष्टि

औषधी उपलब्ध नहुँदा अन्यत्र रेफर गरियो


जनकपुर–पर्साको वीरगञ्जमा कोभिड–१९ संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड–१९ संक्रमण मुक्त भइसकेका तीन जनामा म्यूकोर्माइकोसिस संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जका २५, ४५ र ५० वर्षका तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको डाइग्नोष्टिक सेन्टरका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. अमरनाथ (एएन) ठाकुरले बताए ।

फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको ठाकुरले बताए । उनले भने, ‘दुई जनाको कन्फर्म भइसकेको छ । एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी छ ।’

उनकाअनुसार म्युकोर्माइकोसिस दुई चरणमा पत्ता लाग्छ । पहिलो केओएच टेष्ट हो । यसले फङ्गस इन्फेक्सन छ–छैन पत्ता लगाउँछ । कुन फङ्गस इन्फेक्सन हो भन्ने थाहा पाउन कल्चर गर्नुपर्ने हुन्छ । त्यसका लागि एक साता लाग्छ ।
‘फङ्गस इन्फेक्सन छ भनेर प्रमाणित भएपछि उपचार सुरु गर्ने बाटो खुल्छ’ उनले भने, ‘त्यसपछि कुन जाति हो भनेर कल्चर गरेर पत्ता लगाउँछौं ।’

म्युकोर्माइकोसिस खतरनाक फंगल संक्रमण हो । यो पछिल्लो समय कोभिड–१९ संक्रमितमा देखा परिरहेको छ । यसले संक्रमितको नाक, आँखा वा दिमागमा असर गर्न सक्छ । फोक्सोमा पनि फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।

नारायणी अस्पतालका डा. निरज सिंह पनि वीरगञ्जमा ब्ल्याक फङ्गसका बिरामी भेटिएको र दुई जनाको मृत्यु भइसकेको बताउँछन् । क्लिनिकल्ली भने पहिलो पटक प्रमाणित भएको छ ।

डा.सिंहकाअनुसार पछिल्ला दिनमा भेटिएका ब्ल्याक फङ्गसका बिरामीलाई चितवनका साथै भारतको पटना, लखनउ रिफर गरिएको छ । ‘समस्याबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका हौं । औषधी व्यवसायीहरुसँग हारगुहार गरेका थियौं,’ डाक्टर सिंहले भने, ‘औषधीको व्यवस्था हुन सकेन । त्यसैले भारतका विभिन्न अस्पतालमा रिफर गरेका छौं ।’

भारतमा यसअघि ९ हजार जनामा यस्तो संक्रमण भेटिएको विवरणहरू सार्वजनिक भएका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ