२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरू

गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरू


पोखरा—स्याङ्जाको गल्याङ नगर अस्पतालले दन्त उपचार सेवा विस्तार गरेको छ । गल्याङ—३ बल्पुकस्थित उक्त अस्पतालले पहिलोपटक दन्त उपचार सेवा सञ्चालनमा ल्याएको हो ।

कान्तिपुर डेन्टल अस्पताल काठमाडौंले २ दन्त विशेषज्ञ उपलब्ध गराएको छ । रोटरी क्लब अफ उक जिङजङ ताइवानले ताइवानबाट मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको अस्पतालका प्रशासक थानापति न्यौपानेले जानकारी दिए ।

दन्त उपचार सेवा सञ्चालनका लागि अस्पताल, रोटरी क्लब र कान्तिपुर अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार २ वर्षसम्मको सञ्चालन तथा व्यवस्थापन रोटरी क्लब र कान्तिपुर डेन्टल अस्पतालले गर्नेछन् भने त्यसपछि अस्पतालले नै गर्नुपर्नेछ ।

निजी डेन्टल क्लिनिकमा दाँतको उपचार महंगो हुने भन्दै अस्पतालका प्रशासक न्यौपानेले उपचारमा प्रयोग हुने सामाग्री खर्चमात्रै लिएर सेवा दिइने उल्लेख गरे । ‘यस अस्पतालको सेवा न्यून आर्थिक अवस्था भएका नगरवासीले पनि सहजै लिन सक्नेछन्,’ उनले भने ।

अस्पतालमा दाँत सफा गर्ने, भर्ने, दाँतको एक्सरेलगायत सेवा लिन सकिनेछ । दाँत बनाउने मेसिनसमेत उपलब्ध भएको तर छुट्टै ल्याबको आवश्यकता पर्ने भएकाले तत्काल दाँत राख्ने सेवा दिन नसकिएकोे प्रशासक न्यौपानेको भनाइ थियो । उनले नजिकैका निजी डेन्टल क्लिनिकसँगको सहकार्यमा दाँत राख्ने सेवा सुरु गर्नेबारे छलफल भएको समेत जानकारी दिए ।

रोटरी क्लब अफ काठमाडौं नर्थको पहलमा रोटरी क्लब अफ उक जिङजङ न्यु ताइपेइ÷ताइवान र रोटरी क्लब अफ आइआरडीको सहयोगमा सुरु गरिएको दन्त उपचार सेवा गल्याङ नगरपालिका र छिमेकी पाल्पा, गुल्मी र पर्वतका केही भेगका जनताले समेत लिन सहज हुने गल्याङ—३ का अध्यक्ष महेश भट्टराईले बताए ।

अस्पतालमा सामान्यतर्फ १ सयदेखि डेढ सयसम्म दैनिकजसो बिरामी आउने गर्छन् भने डेन्टल सेवा सुरु भएको पहिलो हप्ता भएकाले ४/५ जना दैनिक आउने गरेको न्यौपानेले बताए । भारतीय दुतावासको सहयोगमा भवन बनेपछि सामुदायिक अस्पतालको रुपमा स्थापित गल्याङ अस्पताल १ वर्ष अघिमात्रै नगरपालिकाले स्वामित्व ग्रहण गरी नगर अस्पताल बनाएको थियो ।

नपुग सञ्चालन खर्च नगरपालिकाले नै व्यहोर्ने गरेको छ । अस्पतालमा स्वास्थ्य बिमा सुविधा पनि रहेकाले सेवाग्राही बढ्ने र सञ्चालन खर्च कम हुने न्यौपानेको तर्क थियो । अस्पतालमा छात्रवृत्तिका विशेषज्ञ डाक्टर सरुवा भएर गएपछि उक्त पद २ महिनादेखि रिक्त रहेको पनि उनले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ