२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरू

गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरू


पोखरा—स्याङ्जाको गल्याङ नगर अस्पतालले दन्त उपचार सेवा विस्तार गरेको छ । गल्याङ—३ बल्पुकस्थित उक्त अस्पतालले पहिलोपटक दन्त उपचार सेवा सञ्चालनमा ल्याएको हो ।

कान्तिपुर डेन्टल अस्पताल काठमाडौंले २ दन्त विशेषज्ञ उपलब्ध गराएको छ । रोटरी क्लब अफ उक जिङजङ ताइवानले ताइवानबाट मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको अस्पतालका प्रशासक थानापति न्यौपानेले जानकारी दिए ।

दन्त उपचार सेवा सञ्चालनका लागि अस्पताल, रोटरी क्लब र कान्तिपुर अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार २ वर्षसम्मको सञ्चालन तथा व्यवस्थापन रोटरी क्लब र कान्तिपुर डेन्टल अस्पतालले गर्नेछन् भने त्यसपछि अस्पतालले नै गर्नुपर्नेछ ।

निजी डेन्टल क्लिनिकमा दाँतको उपचार महंगो हुने भन्दै अस्पतालका प्रशासक न्यौपानेले उपचारमा प्रयोग हुने सामाग्री खर्चमात्रै लिएर सेवा दिइने उल्लेख गरे । ‘यस अस्पतालको सेवा न्यून आर्थिक अवस्था भएका नगरवासीले पनि सहजै लिन सक्नेछन्,’ उनले भने ।

अस्पतालमा दाँत सफा गर्ने, भर्ने, दाँतको एक्सरेलगायत सेवा लिन सकिनेछ । दाँत बनाउने मेसिनसमेत उपलब्ध भएको तर छुट्टै ल्याबको आवश्यकता पर्ने भएकाले तत्काल दाँत राख्ने सेवा दिन नसकिएकोे प्रशासक न्यौपानेको भनाइ थियो । उनले नजिकैका निजी डेन्टल क्लिनिकसँगको सहकार्यमा दाँत राख्ने सेवा सुरु गर्नेबारे छलफल भएको समेत जानकारी दिए ।

रोटरी क्लब अफ काठमाडौं नर्थको पहलमा रोटरी क्लब अफ उक जिङजङ न्यु ताइपेइ÷ताइवान र रोटरी क्लब अफ आइआरडीको सहयोगमा सुरु गरिएको दन्त उपचार सेवा गल्याङ नगरपालिका र छिमेकी पाल्पा, गुल्मी र पर्वतका केही भेगका जनताले समेत लिन सहज हुने गल्याङ—३ का अध्यक्ष महेश भट्टराईले बताए ।

अस्पतालमा सामान्यतर्फ १ सयदेखि डेढ सयसम्म दैनिकजसो बिरामी आउने गर्छन् भने डेन्टल सेवा सुरु भएको पहिलो हप्ता भएकाले ४/५ जना दैनिक आउने गरेको न्यौपानेले बताए । भारतीय दुतावासको सहयोगमा भवन बनेपछि सामुदायिक अस्पतालको रुपमा स्थापित गल्याङ अस्पताल १ वर्ष अघिमात्रै नगरपालिकाले स्वामित्व ग्रहण गरी नगर अस्पताल बनाएको थियो ।

नपुग सञ्चालन खर्च नगरपालिकाले नै व्यहोर्ने गरेको छ । अस्पतालमा स्वास्थ्य बिमा सुविधा पनि रहेकाले सेवाग्राही बढ्ने र सञ्चालन खर्च कम हुने न्यौपानेको तर्क थियो । अस्पतालमा छात्रवृत्तिका विशेषज्ञ डाक्टर सरुवा भएर गएपछि उक्त पद २ महिनादेखि रिक्त रहेको पनि उनले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ