२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ संसदमा चित्रबहादुरको व्यंग्य, ‘संघीय प्रणालीमा कर्मचारीलाई तलब नदिएपनि हुन्छ कि ?’

संसदमा चित्रबहादुरको व्यंग्य, ‘संघीय प्रणालीमा कर्मचारीलाई तलब नदिएपनि हुन्छ कि ?’

धनगढीमा स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएको विषय संसदमा


काठमाडौं—धनगढी उपमहानरपालिकामा स्वास्थ्य सेवाका कर्मचारीले तलब नपाएको विषयलाई लिएर जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा सरकारमाथि व्यंग्य गरेका छन् । बुधबार प्रतिनिधीसभाको बैठकमा बोल्दैं सांसद केसीले संघीय प्रणालीमा कर्मचारीलाई तलब नै नदिएपनि हुन्छ कि भनेर व्यंग्य गरेका हुन् ।

‘धनगढी उपमहानगरपालिकामा केन्द्रले खटाएका ५४ जना स्वास्थ्यका कर्मचारीहरु छन् । उनीहरुले ६ महिना भयो तलब नै पाएका छैनन्,’ उनले भने, ‘अब खटाउनेले तलब खाएर उहाँहरुलाई खटाइरहेको हो कि के हो यो संघीय प्रणाली भएपछि कर्मचारीलाई तलब नदिएपनि हुन्छ कि ? त्यसकारण सम्मानीय सभामुखज्यूमार्फत ती ६ महिनादेखि बिना तलब दुःख कष्ट भोगिरहेका कर्मचारीलाई सरकारले यथाशीघ्र तलब भुक्तानी गरोस धन्यवाद ।’

धनगढी उपमहानगरपालिकामा ५४ जना कर्मचारीले ६ महिनादेखि तलब भत्ता नपाएको विषय मंगलबार हेल्थआवाजले प्रकाशित गरेको थियो । समायोजन र समायोजन मिलान भएर धनगढी उपमहानगरमा खटिएका स्वास्थ्य सेवाका कर्मचारीले ६ महिनादेखि तलबभत्ता नपाएपछि आन्दोलन सुरु गरेका छन् ।

आइतबारदेखि धनगढी उपमहानगपालिकाको मुख्य प्रवेशद्वार नजिकै २ वटा ब्यानर झुण्ड्याएर उपमहानगरपालिको स्वास्थ्य शाखा र १९ वडाका स्वास्थ्य संस्थाका ५४ कर्मचारी धर्नामा छन् । धर्नामा बसेका उनीहरुले हातमा कालो पट्टी बाँधेका छन् ।

धर्नामा रहेका कर्मचारीहरुले धर्नास्थलमै हाजिरी गर्ने गरेका छन् । माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुनेलगायतका दबाबमूलक कार्यक्रम धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरुले अघि बढाउने घोषणा गरेका छन् ।

यो पनि पढ्नुस्

धनगढीमा समायोजन भएका स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब भत्ता पाएनन्


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ