चरिकोट— दोलखाको वैतेश्वर गाउँपालिकाले ८ दिने निःशुल्क आँखा शिविर सुरु गरेको छ । शिविर गाउँपालिकाको आयोजना र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो ।
निःशुल्क आँखा शिविरमा एकै दिन ८० जनाभन्दा बढीले आँखा परीक्षण गरिएको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती जानकारी दिए । पहिलो दिन वडा नम्बर–१ को वडा कार्यालयमा सञ्चालित शिविरमा ८० जनाभन्दा बढीकोे निःशुल्क आँखा रोग परीक्षण, मोतियाविन्दु परीक्षण गरिएको थियो ।
उक्त परिक्षणमा १० जनामा मोतियाविन्दु देखिएको आँखा अस्पताल बनेपाकी आँखा रोग विशेषज्ञ शिविर तथा संयोजक रेणु विकले बताइन् । अन्य दुई जनाको पूरै आँखा बन्द भेटिएकोले तत्काल अप्रेसन गर्नुपर्ने भेटिएको उनले जानकारी दिइन् ।
शिविरमा वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, वडा नम्बर–१ का वडाअध्यक्ष भीमबहादुर तामाङ, गाउँपालिकाका प्रशासन प्रमुख रवीन्द्र चौलागाईं, इन्जिनियर रोशनकुमार गिरी, विश्वास घिमिरे, पत्रकार महासंघ दोलखाका सहसचिव सुवास बस्नेत, वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङ, मासुनाँगा आँखा अस्पताल बनेपाका आँखा रोग विज्ञहरु सर्मिला श्रेष्ठ, कविता पटेल, रेणु बिक लगायतका उपस्थिति रहेका थियो ।
८ दिनसम्म प्रत्येक वडाको स्वास्थ्य चौकीमा आँखा शिविर हुने आयोजकले जानकारी दिएको छ ।