२०८२ साउन ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशतीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित

तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित


चरिकोट—दोलखा गौरीशंकर गाउँपालिका–४ झ्याँकुका धनबहादुर दर्जी तीन छोराछोरीलाई चिकित्सक बनाउने प्रेरणादायी अभिभावकका रूपमा सम्मानित भएका छन् ।गौरीशंकर गाउँपालिका सुरीमा आयोजित ‘दलित समुदाय प्रतिभा प्रस्फुटन कार्यक्रम’मा दर्जीलाई विशेष सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष विश्वास कार्की र उपाध्यक्ष उमा शेर्पा मगरले उनलाई खादा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

धन बहादुर दर्जीका पाँच सन्तानमध्ये छोरा डा. पदम नेपाली चितवनको भरतपुर अस्पतालमा विशेषज्ञका रूपमा कार्यरत छन् । छोरी डा. निरमाया नेपाली रामेछापको मन्थली अस्पतालमा कार्यरत छिन् भने अर्का छोरा डा. गणेश नेपाली हेटौडाको मदन भण्डारी अस्पतालमा सेवा दिइरहेका छन् । दर्जीका अर्का सन्तान दल बहादुर नेपाली मानेडाँडा मावि झ्याँकुमा स्थायी शिक्षक छन् ।

‘गाउँमै बसेर कपडा सिलाइबाट छोराछोरीको भविष्य उज्यालो बनाउनु उल्लेखनीय कुरा हो,’ गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले भने, ‘उहाँजस्ता अभिभावकहरू समाजका प्रेरणा हुन् ।’ जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा दलित समुदायबाट स्थायी शिक्षक बनेका अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम गाउँ कार्यपालिका सदस्य गंगा मुग्रातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विवेक कार्की ढोली, दल बहादुर नेपाली, सुवास विश्वकर्मा, कृष्ण चर्मकारलगायतलाई समेत सम्मान प्रदान गरिएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ