काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट सञ्चालन हुने भएको छ । स्वास्थ्यका अधिकारीहरुकाअनुसार परिषद्को नयाँ भवनबाट सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी अगाडि बढाएको छ ।
परिषद्को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयका अधिकारी र परिषद्का अधिकारीबीच पटक—पटक छलफल भइसकेको छ । ‘उहाँहरु (मन्त्रालय र परिषद्का अधिकारी)बीच पटक—पटक छलफल भइसकेको छ,’ मन्त्रालय निकट स्रोतले भन्यो, ‘अब परिषद्को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने लगभग टुंगिएको छ ।’
स्वास्थ्य मन्त्रालयको पछाडि बनेको उक्त नयाँ भवन निर्माणको लगभग सबै काम पूरा भएको छ । ‘परिषद्को नयाँ भवनबाट हामीले मन्त्रालयको काम सुरु गर्ने तयारी गरेका छौं,’ स्वास्थ्य सचिव विकास देवकोटाले भने, ‘अहिले अस्थायी रुपमा मन्त्रालयका काम त्यहाँबाट सञ्चालन हुनेछन् ।’ उनले भविष्यमा भने सिंहदरबारभित्रै जाने तयारी कामहरु अगाडि बढाइने बताए ।

स्वास्थ्य मन्त्रालयको पूरानो क्यान्टिन रहेको ठाउँमा बनेको परिषद्को नयाँ भवन बेसमेन्टसहित पाँच तलाको छ । उक्त भवन झण्डै १४ करोड लागतमा बनेको हो ।
जेन—जी आन्दोलनका क्रममा भएको आगजनीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूर्ण रुपमा क्षति भएको छ ।