धनगढी —१ कात्तिक २०८० बाट न्यूनतम स्वास्थ्य सेवासहित सञ्चालन भएको गेटा अस्पताल कानुनतः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रुपान्तरण भइसकेको छ । तर, अस्पतालमा सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि उल्लेख्य रुपमा सेवा वृद्धि हुन सकेको छैन । करिब १ अर्बभन्दा बढीको स्वास्थ्य उपकरण खरिद गरेर जडान भइसक्दा समेत जनशक्ति अभावका कारणले सेवा संचालन गर्न नसकिएको गेटा अस्पतालले जनाएको छ ।
गेटा अस्पताले हालसम्म जनरल मेडिसिन, मुटु रोग, स्त्री तथा प्रसूति, नाक कान घाँटी, अर्थोपेडिक, छाला तथा यौन रोग, बालरोग, जनरल सर्जरी, युरोलोजीसँगै डेन्टल सम्बन्धि विशेषज्ञ सेवाहरु प्रदान गरिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ मा गेटा अस्पतालको लागि विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफसँगै अन्य कर्मचारी गरी १ सय ४१ जनाको दरबन्दी स्वीकृत गरेको थियो । सो दरबन्दीअनुसार कर्मचारी भर्ना गरी सेवा प्रवाह गरिरहेको गेटा अस्पतालले थप सेवा विस्तारका लागि उपकरणसँगै वार्डहरुको ब्यवस्थापन गरेपनि जनशक्ति नहुँदा संचालनमा आउन सकेका छैनन् ।
आईसीयु, मोडुलर ओटी, जनरल वार्डहरु तयार भएपनि चिकित्सकसँगै नर्सिङ कर्मचारीहरु नहुँदा सेवा सञ्चालन गर्न नसकिएको अस्पतालका सुचना अधिकारी नैनसिह कार्कीले जानकारी दिए । उनले भने, ‘मुटु रोगको विशेषज्ञ चिकित्सक भएपनि एन्जियोग्राफीको लागि भेरी अस्पताल वा काठमाडौं नै रिफर गर्नुपर्ने अवस्था छ ।’
मुटु रोग बिशेषज्ञ चिकित्सक उपलब्ध भएपनि सुदूरपश्चिममा क्याथ ल्याब नहुँदा बिरामी रिफरसँगै जनशक्ति नै पलायन हुने अवस्था छ । मुटु रोग विशेषज्ञ सेवा बिस्तारका लागि क्याथ ल्याब आवश्यक पर्छ । राष्ट्रिय ट्रमा सेन्टरमा प्रयोगबिहिन अव स्थामा रहेको क्याथ ल्याब गेटा अस्पताललाई हस्तान्तरणको लागि छलफल भएपनि पूर्णता पाउन सकेन । गेटा अस्पतालमा स्थायी, करार र छात्रवृत्ति करार गरी १५ भन्दा बढी बिशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । त्यसैगरी, अस्पतालमा स्थायी, करार र छात्रबृत्ति करार गरी २३ जना नर्सिङ कर्मचारी छन् ।
गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको भौतिक पूर्वाधार शिक्षा मन्त्रालय मातहतको पूर्वाधार विकास समितिले निर्माण गरेको थियो । अस्पतालका कर्मचारीहरु हाल बिरामीको कुरुवाको लागि तयार भएको भवनमा बसिरहेका छन् चिकित्सकहरुको लागि भने बाहिर मासिक लाखौं भाडामा आवासका प्रयोग भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा. विकास देवकोटाले गेटा अस्पताललगायतका अन्य अस्पतालहरुको अस्थायी दरबन्दी स्वीकृतीका लागि अघिल्लो मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको जानकारी दिए । ‘त्यो प्रस्ताव फिर्ता आएको छ । फेरि स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पठाउँछौं,’ उनले भने, ‘गेटा अस्पतालको कर्मचारी आवासको भौतिक पूर्वाधार हस्तान्तरणको लागि शिक्षा मन्त्रालयसँग छलफल भइरहेको छ ।’
गेटामा शिक्षण अस्पताललाई आवश्यक पर्ने आवास मापदण्डअनुसार भौतिक संरचना निर्माण भएको छ । विश्वविद्यालयमा नियुक्त हुने पदाधिकारी, शिक्षण अस्पतालमा कार्यरत रहने प्राध्यापक र चिकित्सकहरु मात्रै आवास सुविधा पाउनेछन् । हाल स्वीकृत अस्थायी दरबन्दी र काजमा मात्रै कर्मचारी रहेकाले आवास दुरुपयोग हुने भएकाले हस्तान्तरण नगरिएको स्रोतले बतायो ।
हाल करार ज्यालादारीसँगै श्रेणिबिहिन कर्मचारीले समेत बिरामी कुरुवाको लागि निर्माण भएको भवनमा आवासीय सुविधा प्रयोग गरिरहेका छन् । १४ चैत २०७८ को मन्त्रिपरिषदको निर्णयअनुसार गेटामा मेडिकल कलेज स्थापना तथा संचालन गर्ने प्रयोजनका लागि शिक्षण अस्पताल स्थापना र संचालन गर्ने निर्णय भएको थियो ।
सो निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गेटा मेडिकल कलेज तथा शिक्षण अस्पतालको सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने गरी डा. प्रमोद जोशीलाई अस्पताल निर्देशकको रुपमा खटाएको थियो ।
गेटा मेडिकल कलेजका लागि निर्माण भएको भौतिक पूर्वाधारमा मेडिकल कलेज, प्रतिष्ठान हुँदै स्वाथ्य विज्ञान विश्वविद्यालयमा बन्न पुगेको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक ४ जेठ २०८० मा प्रतिनिधीसभाबाट पारित भएको थियो भने २९ माघ २०८० मा विधेयक राष्ट्रियसभाबाट पारित भएको थियो । संसदका दुवै सदनबाट पारित भएसँगै विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ४ असार २०८२ मा उक्त विधेयक प्रमाणीकरण गरेसँगै गेटामा विश्वविद्यालय सञ्चालनमा ल्याउने कानुनी बाटो प्रशस्त भएको छ ।