काठमाडौं—रुपन्देहीको सिद्धार्थ नगरपालिका—८ अन्नपूर्ण टोलमा निर्माणाधीन २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । अस्पतालका अध्यक्ष कमल भण्डारीले भदौं महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरेपनि जेन—जी आन्दोलनलगायतका कारण अस्पतालको औपचारिक सञ्चालन झण्डै ७ महिना पछाडि धकेलिएको जानकारी दिए ।
‘हामीले भदौंबाट अस्पताल सञ्चालनमा ल्याउने भनेका थियौं,’ उनले भने, ‘तर, जेन—जी आन्दोलनलगायतका कारण सामान कलकता पोर्टमै रोकिएको छ । हामीले मन्त्रालयबाट स्वीकृत प्राप्त गर्न सकेका छैनौं । त्यहीकारण औपचारिक रुपमा १ बैशाखबाट सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं ।’
अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा प्रदान गर्ने तयारी गरेको अस्पतालले सफ्ट ओपनिङ भने पुसबाट गर्ने तयारी छ । ३ अर्ब ९२ करोड रुपैयाँ लागतमा स्थापना भएको यो हस्पिटल १ विगाहा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । अस्पतालले सात तलाको अत्याधुनिक भवनबाट सेवा प्रदान गर्नेछ ।
‘न्यूरोलोजी, एमआरआईलगायतका दक्षिण एसियामै लेटेष्ट टेक्नोलोजीबाट बिरामीलाई सेवा प्रवाह गर्दैछौं,’ भण्डारीले भने । उनकाअनुसार अस्पतालले मुख्यतयाः अब्स.÷गाइनोकोलोजी, अर्थोपेडिक्स, स्नायु, कार्डियोका क्षेत्रमा केन्द्रीत गरेर अत्याधुनिक सेवा प्रवाह गर्नेछ ।
अस्पतालमा अन्तरंग, बहिरंगका सबैजसो विशेषज्ञ सेवाहरु पनि उपलब्ध हुनेछन् । रेडियोलोजी, प्याथोलोजी, अल्ट्रासाउण्ड, इसिजी, इको कार्डियोग्राफी, इण्डोस्कोपी, ब्रोन्त्कोस्कोपी, कोलोनोस्कोपी सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । ‘अहिले राम्रो स्वास्थ्य सेवा स्वदेशमा नहुँदा विदेश धाउनुपर्ने नेपालीको बाध्यता छ,’ भण्डारीले भने, ‘उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्ने र नेपालको पैसा स्वदेशमै रोक्ने हाम्रो प्रयास हो ।’ भवन र पूर्वाधारको काम सकिएसँगै अस्पतालले जनशक्ति व्यवस्थापन र इन्टेरियरको काम भइरहेको उनले जानकारी दिए ।
अस्पतालमा युवा व्यवसायी सुरज उप्रेतीको ५० प्रतिशत र अध्यक्ष भण्डारीको ५० प्रतिशत शेयर स्वामित्व छ । एडभान्सका सञ्चालकहरुसँग यसअघि नेपालगन्ज मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभव छ । अस्पतालले २ मिनेटको पैदल दूरीमा अस्पतालका कर्मचारीहरुका लागि १९ वटा अपार्टमेन्टको समेत व्यवस्था गरेको छ ।