२०८२ मंसीर ३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन

उपकुलपतिका लागि पर्याप्त आवेदन नपरेपछि ५ मंसिरसम्म म्याद थप


धनगढी—सुदूरपश्चिमको गेटास्थित नेपालकै पहिलो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयकाअनुसार रजिष्ट्रारका लागि आवेदन परेकामध्ये १० जनाको नाम स्वीकृत भएको हो ।

जसमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी र कन्चनपुरका खेमराज जोशीको आवेदन स्वीकृत भएको छ । यसैगरी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्द सिंह विष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशी रहेका छन् ।

उपकुलपति र रजिष्ट्रार सिफारिस समितिले आवेदन परेकामध्येबाट प्रस्तुतीकरण अन्तर्वार्ताका आधारमा तीन जनाको सर्टलिष्ट गर्नेछ । तीन जना सर्टलिष्ट भएकाहरुलाई रजिष्ट्रार नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिनेछ । प्रधानमन्त्रीले सर्टलिष्टमध्येबाट एक जनालाई रजिष्ट्रार नियुक्त गर्नेछन् ।

रजिष्ट्रारका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, उच्च शिक्षामा प्राध्यापन वा प्राज्ञिक अनुसन्धान वा स्वास्थ्य सेवाको कार्यकारी प्रशासनको पदमा वा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पद वा सो भन्दा माथिको पदमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको र शैक्षिक, प्राज्ञिक उन्नयन वा प्रशासनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको हुनुपर्नेछ ।

यसैगरी, कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको, दरखास्त पेश गर्ने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६१ वर्ष उमेर ननाघेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाँझिएको, नेपाली नागरिक भएको र दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ ।

१६ कात्तिकमा शहीद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि एकै मितिमा आवेदन माग गरिएको थियो । तर, उपकुलपतिका लागि पर्याप्त आवेदन नपरेपछि ५ मंसिरसम्म पद थपिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ