धनगढी—नेपाल चिकित्सक संघ (एनएमए)को आगामी निर्वाचनमा सुदू्रपश्चिम प्रदेशबाट उपाध्यक्षका लागि दुई जना चिकित्सकहरुले उम्मेदवारी दिएका छन् ।
सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल भएपछि डा. बद्री रिजाल समूहबाट डा. प्रमोद जोशी र डा. मंगल रावल समूहबाट डा. निरज अर्यालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
एनएमएको प्रदेश उपाध्यक्ष नै त्यस क्षेत्रको प्रदेश संयोजक हुने व्यवस्था छ । सुदूरपश्चिमका चिकित्सकहरुले एक महिनादेखि सर्वसम्मत बनाउने प्रयास गरेका थिए।
सर्वसम्मत उम्मेदवार नै सिफारिस गर्ने सहमतिअनुरुप सेती प्रादेशिक अस्पताल कार्यरत डा. खगेन्द्र भट्ट र गेटा अस्पतालमा कार्यरत रवीन्द्र देव भट्टको नाममा प्रदेशका चिकित्सकहरु सहमत भएका थिए ।
तर, अन्तिम समयमा उक्त सहमति कार्यान्वयन नगरी दुई वटै समूहबाट नै छुट्टा—छुट्टै उम्मेदवारी परेको हो ।
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका सचिव डा. मिराज आलम अन्सारीले सर्वसम्मत बनाउने छलफल भएको तर सहमति भने नभएको बताए ।