२०८२ माघ २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

७० जनाभन्दा बढी चिकित्सक, ११० जना नर्स र अन्य कर्मचारी गरी ३५० जनालाई रोजगारी


काठमाडौं—४ अर्ब लगानीमा बनेको दाङको घोराही उपमहागरपालिका—३ भानपुरमा ३०० शय्याको सन्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल सञ्चालनमा आउने भएको छ । माघ मसान्तबाट ३०० शय्याको शिक्षण अस्पताल अत्याधुनिक उपकरणसहित सञ्चालनमा ल्याउने गरी सबै तयारी सकिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक रोकाले जानकारी दिए ।

‘माघ मसान्तबाट सेवा दिने गरी प्राविधिक, प्रशासनिक लगायतका सबै तयारी सकिएका छन्,’ सिईओ रोकाले हेल्थआवाजसँग भने, ‘निर्माण कार्य एक महिनाअघि सकेर हामीले ह्युमन रिसोर्सदेखि प्राविधिक तयारीसम्मका सबै कामहरु सकेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०० शय्याको स्वीकृती पाइसकेको सन्जीवनी अस्पताल ४ अर्ब लगानीमा बनेको हो । आफ्नै स्वामित्वको पाँच विगाहा क्षेत्रफलमा फैलिएको सन्जीवनी अस्पतालमा ९ वटा अत्याधुनिक भवनहरु निर्माण गरिएका छन् ।

‘हामीले पाँच सय शय्या क्षमताको शिक्षण अस्पताल बनाउने योजनाका साथ भौतिक संरचना बनाएका छौं,’ उनले भने, ‘तीन वर्षपछि मेडिकल कलेज सञ्चालन गर्दा भौतिक पूर्वाधार थप्न नपर्ने गरी तयारी गरिएको छ ।’ तीन वर्षपछि अस्पताललाई ५०० शय्यामा स्तरोन्नती गर्दै मेडिकल कलेजमा लैजाने योजना व्यवस्थापनको छ ।

माघ मसान्तबाटै अत्याधुनिक पूर्वाधार, आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान हुने रोकाले जानकारी दिए । त्यसका लागि ३२ जना विशेषज्ञ चिकित्सकसहित ७० जनाभन्दा बढी चिकित्सक, ११० जना नर्स र अन्य कर्मचारी गरी अहिले ३५० जना कर्मचारीहरुले काम सुरु गरिसकेका छन् ।

अस्पतालले जनरल फिजिसियन, अर्थोपेडिक्स, गाइनोकोलोजी, जनरल सर्जरी, साइक्रायाट्रिक, डर्माटोली, पेडियाट्रिक, ग्यास्ट्रोइन्टेरोलोजी, कार्डियोलोजी, ईएनटी, डेन्टल, नेत्र रोगलगायतका विशेषज्ञ सेवाहरु प्रवाह गर्नेछ । यसैगरी, अस्पतालमा मिर्गौला डायलाइसिस, फिजियोथेरापीलगायतका सेवाहरु पनि उपलब्ध हुने अस्पतालले जनाएको छ ।

त्यसबाहेक अस्पतालले सिटी स्क्यान, एमआरआई, डिजिटल एक्स—रे, मेमोग्राफी, अल्ट्रासाउण्ड, इसिजी, इकोकार्डियोग्राफी, इण्डोकोस्पकोपी, कोलोनोस्कोपीलगायतका उपकरणहरु समेत जडान गरिसकेको सिईओ रोकाले जानकारी दिए । उनकाअनुसार अस्पतालमा ७० वटा आईसीयु, ११ वटा मोड्युलर र ३ वटा अन्य गरी १४ वटा ओटी छन् । क्याथ ल्याब सेवा सञ्चालनका लागि समेत उपकरण सेटअप भइसकेको अस्पतालले जनाएको छ ।

संजीवनी अस्पतालको अध्यक्ष व्यवसायी खुमाप्रसाद अर्याल छन् । उनको यो छैटौ ठूलो लगानी हो । यसअघि उनले गण्डकी मेडिकल कलेज, पोखरा, युनिभर्सल मेडिकल कलेज, भैरहवा, नेपालगन्ज मेडिकल कलेज, बाँके, संजीवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगन्जलगायतमा लगानी गरिसकेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ