डा. अर्चन शमशेर राणा पेशाले मिर्गौला रोग विशेषज्ञ हुन् । पूर्वको झापादेखि पश्चिम महेन्द्रनगरसम्म उनले लाखौं मिर्गौला रोगका बिरामीहरुको उपचार गरेका छन् । ‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन’ अभियानमार्फत उनी मिर्गौला रोग लाग्न नदिने सचेनता अभियान पनि चलाउँदैं आएका छन् । तर, बिरामी हेर्दाहेर्दै मिर्गौला रोगका उपचारका रहेका नीतिगत अप्ठ्यारा, युवाका समस्या, बिरामीका समस्या, मुलुकको अवस्थालगायतका कारणले उनलाई राजनीतिले तानेको छ ।
त्यही कारण वि.सं. २०७९ सालमा काठमाडौं—४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका उनी २१ फागुन २०८२ मा हुने निर्वाचनमा पनि त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् । चुनाव चिन्ह छ—सिरिन्ज । डा. अर्चन वि.स. २०३९ कात्तिक ११ मा काठमाडौंको नक्साल नागपोखरीमा जन्मिएका हुन् । बुवा मछेन्द्र (बाटु दाइ) शमशेर राणा र किरण राणाका दुई सन्तानमध्ये उनी कान्छा हुन् । उनका बुवा मछेन्द्र व्यापार व्यवसायमा संलग्न थिए भने आमा नेपाल औधोगिक विकास संस्थानकी सरकारी जागिरे थिइन् ।
डा. अर्चनको शिक्षादीक्षा इलाइट को—एड स्कुल नागपोखरीबाट प्रारम्भ भएको हो । उनले त्यहीबाट सन् १९९७ मा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि विशाखापटनमबाट सन् २००० मा उनले विज्ञानमा प्लस टु सकाए । त्यसपछि नेपाल फर्केर उनले एमबीबीएसका लागि इन्ट्रान्स दिए । इन्ट्रान्समा नाम निस्किएपछि उनले सन् २००० बाटै एमबीबीएसको पढाइ काठमाडौं मेडिकल कलेजमा सुरु गरे । सन् २००५ मा उनले एमबीबीएसको अध्ययन सके ।
डा. अर्चन शिविरहरुमा सहभागिता, अध्ययनलगायतका कारण स्वास्थ्य सेवामा समर्पित भएको २५ वर्ष कटिसकेको छ । ‘मेडिकल लाइनमा २५ वसन्त पार भइसक्यो,’ हालैको एक साँझ हेल्थआवाजसँगको भलाकुसारीमा उनले सुनाए, ‘त्यसपछि मैले चार—पाँच वर्ष मेडिकल अधिकृतका रुपमा काम गरे ।’ किड्नी रोगमा रुचि भएका कारण नेशनल मिर्गौला सेन्टरमा पनि काम गरे ।

सन् २०१० मा उनी विशेषज्ञता अध्ययनका लागि बंगलादेश गए । बंगलादेशको बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीमा उनको नेफ्रोलोजीमा एमडीको अध्ययन गर्न थाले । सन् २०१५ मा उनी एमडी सकेर बंगलादेशबाट फर्किए । बंगलादेशबाट विशेषज्ञ चिकित्सक बनेर फर्किएपछि डा. अर्चन स्वम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा सेवारत रहे ।
त्यो बेला विकट ठाउँका स्वास्थ्य शिविरहरुमा गएर बिरामीलाई हेरेपछि उनी खुसी त हुन्थे तर त्यो लामो समयको टिक्दैन्थ्यो । किनभने, शिविरका क्रममा जाँच गरेको किड्नी दुई वर्षपछि के हुन्छ त ? यो प्रश्नको उत्तर पाउँदैन्थे । बंगलादेशबाट फर्केलगतै सुरु गरेको ‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन अभियान’लाई एउटा आकार दिने योजना बनाए । परिणाम, सन् २०१७ मा उनले कलंकीस्थित नेशनल हस्पिटलमा आफ्नै मार्क किड्नी सेन्टर संचालनमा ल्याए ।
डा. अर्चनको किड्नी विशेष अस्पताल खोल्ने योजनाअनुरुप यो सेन्टर सञ्चालनमा आएको थियो । सन् २०१८ मा उनले लाजिम्पाटमा छुट्टै मार्क इन्टरनेशनल हस्पिटल बनाए । ४ वर्षदेखि धनगढीमा सुदूरपश्चिम डायलाइसिस सेन्टरका पनि सञ्चालनमा छ, जुन यो क्षेत्रमा डायलाइसिस उपलब्ध गराउने एकमात्र सेन्टर हो । उनी आफै पनि हरेक महिनामा एक पटक धनगढी पुगेर बिरामी हेर्छन् । त्यसबाहेक महेन्द्रनगर, बुटवल र दमकमा पनि उनी सेवा दिन्छन् ।
डा. अर्चनकाअनुसार मार्क किड्नी सेन्टरअन्तर्गत उनले बिरामीलाई निःशुल्क उपचार गरिरहेका छन् । ‘हामीले संघसंस्थाहरुसँग कुरा गरेर रकम जुटाएर सेवा निःशुल्क दिएका हौं,’ उनले भने, ‘परीक्षणहरुमा आधा खर्च स्वस्थ मिर्गौला, स्वस्थ जीवन अभियानले व्यवहोथ्र्यो भने आधा खर्च शिविरमा सहकार्य गरेको संस्थाले व्यहोथ्र्यो ।’ कतिपय जिल्लाबाट आउने—जाने बिरामीलाई यातायात भाडा पनि दिएर पठाएको उनी सम्झन्छन् ।
डा. अर्चनले नेफ्रोलोजीमै एमडी सकेर सेवा दिन थालेकै १० वर्ष भइसकेको छ । ‘सुदूरपश्चिमदेखि पूर्वसम्मका सबै ठाउँमा काम गरिरहेको छु,’ उनले भने, ‘५५ जिल्लामा त म स्वास्थ्य शिविरमार्फत जोडिइसकेको छु ।’ यो अवधिमा उनी आफूले लाखौं किड्नीका बिरामीहरुको उपचार गरेको बताउँछन् । ‘५० वटाभन्दा बढी त हामीले किड्नीको निःशुल्क बायोस्पी नै गरेका छाैं,’ उनले भने । डायलाइसिस गर्दा फिस्टुला बनाउन लाग्ने खर्चसमेत आफूहरुले निःशुल्क रुपमा उपलब्ध गराइरहेको उनले सुनाए । त्यसबाहेक मिर्गौला रोगको निःशुल्क सेवा दिने गरी देशका विभिन्न ठाउँमा हस्पिटल तथा क्लिनिक खोल्ने योजना पनि उनको छ ।

डा. अर्चनले मार्क इन्टरनशेनल हस्पिटलमार्फत समस्या भइसकेको मान्छेको समस्या कसरी निर्मुल पार्ने र ‘स्वस्थ मिर्गौला, स्वस्थ्य जीवन’ अभियानमार्फत मिर्गौला रोग लाग्नबाट कसरी बचाउने भनेर जनचेतना अभियान सञ्चालन गरिरहेका छन् । केही व्यक्ति र संस्थाको सहयोगमात्रै पर्याप्त नभएपछि उनी जनताका समस्या लिएर स्वास्थ्यलगायतका मन्त्रालयमा पुगे । त्यहाँबाट उनले जवाफ पाए, ‘डक्टर बिरामी नभएपछि तपाईको काम के ? तपाई आफ्नै खुट्टामा बन्चरो नहान्नुहोस् । बरु डायलाइसिस मेसिन, सिटी स्क्यान ल्याएर आउनुहोस् जस्ता जवाफ पाए ।’ सरोकारवालाकै यस्ता जवाफ सुनेपछि उनी अवाक बनेर फर्किए ।
मार्क इन्टरनेशनल अस्पताल र ‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन’ अभियानले मात्रै किड्नीको रोगका गर्नुपर्ने जति सबै काम गर्न नसकेपछि डा. अर्चनलाई त्यो कुरा राष्ट्रिय इस्यु बन्नुपर्छ भन्ने लाग्यो । त्यसका लागि उनले संसदमा गएर नीति बनाउनका लागि आवाज उठाउने योजना बनाए । त्यही योजना मुताविक डा. अर्चन वि.सं. २०७९ का आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बने । तर, उनको पक्षमा नतिजा आउन सकेन् । त्यसका विविध कारण थिए—तयारी कम, छोटो समय लगायतका । तर, उनले त्यो चुनावलाई पहिलो खुडकिलोका रुपमा लिएर पाठ सिके ।
चुनावमा राम्रो नतिजा हात नपरेपछि डा. अर्चन पुनः आफ्नो कर्ममा फर्किए । सुदूरपश्चिमदेखि पूर्वी नेपालका बिरामीहरुको उपचारमा जुटे । तर, वि.संं. २०७९ को निर्वाचनमार्फत बनेको संसद जेनजी आन्दोलनसँगै असफल भयो । नयाँ निर्वाचनको मिति घोषणा भयो । डा. अर्चनले पुनः राज्य तहमा रहेको यो बेवास्ता, भ्रष्टाचार, स्वास्थ्य बीमा देखिएको समस्यालगायतका मुद्धा अगाडि सार्दै नीतिगत कमजोरी सच्चाउन पहल गर्ने उद्देश्यसहित संसदमा पुग्न चाहेका छन् ।

‘स्वास्थ्य, शिक्षा, युवाको रक्षा’को प्रतिवद्धतासहित उनी काठमाडौं क्षेत्र नं. ४ का जनताहरुमाझ पुगिरहेका छन् । स्वास्थ्य र शिक्षा निःशुल्क गर्न सकिएमा युवाका धेरै समस्या हल हुने उनको आँकलन छ । ‘एउटा काँधका बच्चाको शिक्षाको भार र अर्को काँधमा वृद्ध बुवाआमाको स्वास्थ्यको भार लिएर युवा कसरी अगाडि बढ्न सक्छन्,’ उनले भने, ‘यो दुई वटा भार युवाको काँधबाट निकाल्न सकियो भने युवाहरु दौडन्छन् ।’ आफूले जितेमा चर्को श्वरमा संसदमा यो आवाज उठाउने उनले बताए । एक जनाको आवाज ठीक ठाउँमा लागेमा त्यसले असर गर्ने उनको बुझाइ छ ।
डा. अर्चन विहान ७ बजेदेखि ११ बजेसम्म आफ्नो सिफलस्थित चुनावी कार्यलयमा हुन्छन्, त्यहाँ विभिन्न संस्था र मान्छेहरुसँग कुराकानी गर्छन्, बैठक गर्छन्, चियापान गर्छन्, समस्या बुझ्न्छन् । मिर्गौला रोग विशेषज्ञ उनी चुनावी चटारोका बीच पनि ११ बजेदेखि १ बजेसम्म ओपीडीमा नियमित बिरामी हेर्छन् । कहिलेकाही बिरामी बढी भएमा यो समय एक घण्टा बढ्छ । त्यसपछि उनी पुनः आफ्नो चुनावी कार्यलयमा फर्केर थप चुनावी प्रचार—प्रसारमा खटिन्छन् । त्यसो त डा. अर्चनले वि.संं. २०७९ यता दर्जनौं स्वास्थ्य क्याम्प र सचेतना कार्यक्रममार्फत क्षेत्र नं. ४ मा आफ्नो उपस्थिती बढाएका छन् । जसले उनलाई जनतामाझ चिनाउन थप सहयोग पुर्याएको छ ।
स्वतन्त्र उम्मेदवार भएकाले कार्यकर्ताहरुको भिडभाड छैन् । बरु, उनलाई साथीभाइहरु नै सहयोग गरिरहेका छन् । ‘म आफूलाई भाग्यमानी ठान्छु, मलाई मेरा साथीहरुले अघिल्लो निर्वाचनमा पनि साथ दिए, यो निर्वाचनमा पनि साथ दिइरहेका छन्,’ उनले भने, ‘निर्वाचन परिणाम त जनताको हातमा छ, मेरा एजेण्डा उहाँहरुलाई मन पर्छन् भन्ने लाग्छ ।’