काठमाडौं—लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा राप्ती प्रादेशिक अस्पताललाई दुई सय शय्याको अस्पतालमा स्तरोन्नति गर्नेदेखि मुटुको भल्ब प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण र क्यान्सर रोगको उपचार प्रदान गरिदैं आएको सहुलियत कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।
यस्तै, लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने, पूर्वाधार र मापदण्ड पुगेका अन्य अस्पतालाई आवश्यकताका आधारमा स्तरोन्नती गर्दै लैजाने नीति तथा कार्यक्रममा छ ।
लुम्बिनीले सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स र हवाई उद्धार सेवा सञ्चालन गर्ने भएको छ । स्थानीय तहमा हुने सेवाग्राहीको चाप, भौगोलिक अवस्थामा र दक्ष स्वास्थ्यकर्मीको उपलब्धताको आधारमा सुरक्षित प्रसूति सेवालाई रणनीतिक स्थानमा सञ्चालन गर्ने एवं ग्रामीण अल्ट्रासाउन्ड सेवा कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ । यस्तै, राष्ट्रिय जनसंख्या नीति कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा छ ।
नीति तथा कार्यक्रममा ‘नेपाल आरोग्य वर्ष २०२७’ अन्तर्गत योग, ध्यान र मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अघि बढाइने उल्लेख छ । मानसिक स्वास्थ्य सुधारः स्वस्थ नागरिक लुम्बिनीको आधार अभियानका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यन्वयन गर्ने, विद्यालय नर्स तथा रोभिङ नर्स कार्यक्रमलाई विस्तार गर्ने, नसर्ने रोग तथा दीर्घ रोगको रोकथाम र व्यवस्थापनका लागि समुदायमा जाँच पड्ताल कार्यक्रमलाई निरन्तरता दिने पनि नीति तथा कार्यक्रममा छ ।
आँखा उपचार सेवालाई निरन्तरता दिदैं डायलाइसिस सेवा, बाँझोपन व्यवस्थापन सेवा, जन्मजात विकलांग परीक्षण सेवा, नवजात शिशु सघन उपचार एकाई, जलन उपचार कक्ष, स्तनपान एकाई व्यवस्थापन आमाको दुग्ध संकलन बैंक, निःशुल्क रक्तसञ्चार सेवा, जेष्ठ नागरिक उपचार सेवा तथा प्रशामक सेवा विस्तार गर्दै लैजाने पनि नीति तथा कार्यक्रममा छ ।
दुर्गममा विशेषज्ञ शल्यक्रिया सेवा, लुम्बिनी प्रादेशिक अस्पतालबाट पूर्णकालीन टेलिमेडिसिन सेवा दिने, डिजिटल स्वास्थ्य सूचना प्रणाली, मोबाइल एप र सामुदायिक स्वास्थ्य अभिलेख प्रणाली सुदृढ गरिने, आयुर्वेद र वैकल्पिक चिकित्साको प्रवर्द्धनसँगै स्वास्थ्यकर्मीको क्षमता विकास र दुर्गम क्षेत्रमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले नीति तथा कार्यक्रममा छ ।