२०८३ जेठ २६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता

स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता


काठमाडौं –स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोमबीच भेटवार्ता भएको छ।मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मन्त्री मेहता र राजदूत उर्बोमबीच औपचारिक शिष्टाचार भेटघाट भएको हो।

भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि हुँदै आएको सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। कार्यवाहक राजदूत उर्बोमले अमेरिकी सरकारले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो अवसरमा मन्त्री मेहताले नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै सोहीअनुरूप द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएकी थिइन्।

भेटवार्तामा अमेरिकी सहयोगमा नेपालमा सञ्चालन भइरहेका एचआईभी/एड्स नियन्त्रण तथा रोकथाम कार्यक्रम, स्वास्थ्य सेवाको डिजिटलाइजेसन, टेलिमेडिसिन, ग्लोबल हेल्थ सेक्युरिटी तथा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणलगायतका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

दुवै पक्षले स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवा विस्तार तथा जनस्वास्थ्यका प्राथमिकताका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ