काठमाडौं—शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि तीन जना र रजिष्ट्रारका लागि ७ जना संक्षिप्त सूची (सर्टलिष्टमा) परेका छन् । बिहीबार शिक्षा तथा खेलकूद मन्त्रालयअन्तर्गतको विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस समितिले आवेदन परेकाहरुमध्येबाट सर्टलिष्ट सार्वजनिक गरेको हो ।
उपकुलपतिका लागि प्रा.डा. काजिराम अधिकारी, प्रा.डा. सुनिलकुमार जोशी र प्रा.डा. माधव लम्साल संक्षिप्त सूचीमा परेका छन् । प्रा.डा. अधिकारी तनहुँ, प्रा.डा. जोशी काठमाडौं र प्रा.डा. लम्साल रुपन्देहीका हुन् । प्रा.डा. जोशी विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् ।
यस्तै, रजिष्ट्रारका लागि ७ जनाको नाम सर्टलिष्टमा परेको छ । जसमा कैलालीका प्रा.डा. पदमराज जोशी, तनहुँका प्रा.डा. काजिराम अधिकारी, बैतडीका डा. भीमबहादुर चन्द, महोत्तरीका डा. कादिर आलम, बर्दियाका प्रा.डा. दयाराम पोखरेल, बैतडीका राजेशकुमार ठकुराठी र कञ्चनपुरका डा. डमरुप्रसाद पनेरु रहेका छन् ।
उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता १५ असारका लागि तय भएको छ ।