दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण गर्ने, ५०० जनालाई रोजगारी सिर्जना गर्ने र सात वटै प्रदेशमा डायलाइसिस सेन्टर र प्रि–ट्रान्सप्लान्ट वर्कअप सेन्टर खोल्ने योजनामा काम गरिरहेका छन्—मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणा । डा. अर्चनमा सानैदेखि आफ्नै हस्पिटल खोल्ने सपना थियो । त्यही सपना पूरा गर्न उनी विशेषज्ञ डाक्टर बन्न बंगलादेश गए । उनले बंगलादेशबाट मिर्गौला रोगमा विशेषज्ञता मात्रै हासिल गरेनन्, हस्पिटल म्यानेजमेन्ट पढेर त्यसको डिग्रीसमेत लिए । ‘हस्पिटल खोल्नुपर्छ भन्ने मेरो सानैदेखिको लक्ष्य थियो । बंगलादेशमा विशेषज्ञता पढ्दै गर्दा हस्पिटल कसरी म्यानेज गर्ने भन्ने बुझ्न त्यो कोर्स गरेको थिएँ,’ हालैको एक अपरान्ह हेल्थआवाजसँगको कुराकानीमा उनले भने ।
वि.सं. २०७२ सालमा बंगलादेशबाट मिर्गौला रोगमा विशेषज्ञता हासिल गरेर फर्किएपछि डा. अर्चन नेपालमा हस्पिटल खोल्नतिर केन्द्रीत भए । उनले डा. प्रकाश पौडेलसँग मिलेर कलंकीमा नेपाल नेशनल हस्पिटल खोले । त्यहाँबाट डा. अर्चन मिर्गौला रोगका बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन थाले । त्यही रहँदा उनको मनमा मिर्गौला उपचारका लागि छुट्टै किड्नी सेन्टर स्थापना गर्ने योजना बन्यो ।
वि.सं. २०७३ सालको अन्तिमतिर सेन्टर दर्ता गर्नुअघि डा. अर्चनको योजनामा परिवारका सदस्यहरु नै जोडिए– दाइ, साथीहरु, मामा । चार जनाले हस्पिटलमा लगानी गर्ने भए । मिर्गौलाको विशेषज्ञ उपचार सेवा र डायलाइसिस सेवा दिने उद्देश्यका साथ नेपाल नेशनल हस्पिटलको एक तलामा ‘मार्क इन्टरनेशनल किड्नी सेन्टर’ सञ्चालनमा ल्याए ।

‘मार्क’ नाममा के छ ? डा. अर्चनका भन्छन्, ‘मेरो बुवाको नाम मछेन्द्र, मेरा पार्टनर अनिलबहादुर मल्ल, मामा रविराज शाही र मेरो साथीको आमा कल्पनाको नामको अगाडिको अक्षरबाट मार्क नाम जुराइएको हो ।’ ‘सेन्टरमा सुरुमा १० वटा मेसिन राख्ने योजना थियो,’ डा. अर्चनले भन्छन्, ‘पछि रकम कम भएपछि तीन वटा मेसिनबाट डायलाइसिस सेवा सुरु गरें ।’ उनको टिमले सेन्टर स्थापना र मेसिनमा झण्डै साढे २ करोड रुपैयाँ खर्चियो । सेन्टरमा १० जनाले कर्मचारीले जागिर पाए । नेपाल नेशनल हस्पिटलसँग बाँधिएकाले शल्यक्रिया कक्ष भने उनले हस्पिटलकै प्रयोग गरे ।
त्यो सेन्टरमा डा. अर्चनको व्यस्तता बढ्दैं गयो । ओपिडी दैनिक ५० जना बिरामी हेर्ने उनको पेइङ डायलाइसिस पनि बिरामीले खचाखच भरियो । ‘करिब १०० जना जति त विदेशी बिरामीहरुले नै डायलाइसिस गराएँ,’ डा. अर्चन सम्झन्छन्, ‘वेबसाइट र सोसल मिडियाको माध्यमबाट धेरै विदेशी बिरामी आउन थाले ।’ उनले मार्कमा इटाली, भारत, अमेरिकादेखि अस्ट्रेलियासम्मका बिरामीको उपचार गरे ।
नेपाल नेशनल हस्पिटलमा रहेको मार्क इन्टरनेशनल किड्नी सेन्टर कोभिड—१९ को लकडाउन अघिसम्म राम्रो चलिरहेको थियो । लकडाउनपछि विदेशी बिरामीहरुको ‘च्यानल ब्रेक’ भयो । तर, पनि मार्कको आर्थिक अवस्था र बिरामीको फ्लो राम्रो रहेको डा. अर्चन बताउँछन् । सानैंदेखि आफ्नै अस्पतालको सपना देखेका डा. अर्चनको हुटहुटी कोभिड—१९ ले झन बढायो । ‘योजना त पहिलेदेखि नै थियो । हामीले ५० वटाभन्दा बढी जग्गा हेरिसकेका थियौं । टौदह नजिक ७ रोपनी जग्गा फाइनल भइसकेको थियो,’ डा. अर्चन सम्झन्छन्, ‘विविध कारणले त्यो जग्गा लिन सकिएन् ।’

वि.सं. २०७९ को अन्तिमतिर उनको टिमले लाजिम्पाटमा साढे पाँच तले भवन र १४ आना जग्गा हेर्यो । त्यो फिक्स भएपछि १५ वर्षको लिजमा लिएर हस्पिटल बनाउन थालियो । त्यहाँ निर्माण भइरहेको भवनलाई हस्पिटलको मापदण्डअनुसार बनाउन ६ महिना लाग्यो । ६ महिनामा हस्पिटल अनुकूल भवन बनिसकेपछि वि.सं. २०८० सालको सुरुमा त्यहाँ ‘मार्क किड्नी अस्पताल’’का नाममा २५ शय्याको अस्पताल सञ्चालनमा आयो ।
सुरुमा २०–२५ जना कर्मचारीबाट सुरु भएको मार्क सुरुवाती चरणबाटै नाफाभन्दा सेवामा बढी केन्द्रीत छ । ‘सुरुदेखि नै हामी नाफाभन्दा पनि सेवामा केन्द्रित भयौं,’ डा. अर्चन भन्छन् । न्यून सेवाहरु, कम कर्मचारी र सेवामुखी वातावणबाट अगाडि बढेको मार्क अस्पताल लाजिम्पाटबाट सञ्चालनमा आएको दुई वर्षभन्दा बढी समय भइसकेको छ ।
अहिले मार्कमा मिर्गौलाबाहेक बाल रोग, स्त्री रोग, मुटु रोग, थाइराइड तथा मधुमेहलगायतका सबैजसो रोगहरुको उपचार हुन्छ । मार्कमा सर्जनहरु पनि आवद्ध छन् । ‘अहिले हामीसँग २७ जना विशेषज्ञ डाक्टरसहित पार्टटाइम र फुलटाइम गरी १३८ जना स्टाफ हुनुहुन्छ,’ डा. अर्चन भन्छन् । अहिलेसम्म १५ शय्याको अस्पताल र अन्य सेन्टरमा गरी करिब २० करोड रुपैयाँको हाराहारीमा लगानी भइसकेको छ ।

मार्कले वि.सं. २०७८ को अन्तिमतिर सुदूरपश्चिमकै पहिलो डायलाइसिस सेन्टरका रुपमा धनगढीमा ९ वटा मेसिनमार्फत डायलाइसिस सेवा दिइरहेको छ । त्यहाँ डायलाइसिससँगै ओपिडी सेवामा पनि रहेको डा. अर्चन बताउँछन् । ‘डायलाइसिसमा सरकारको फ्री कोटा पनि छ । डा. अर्चन मोफसलको सहर धनगढी पुगेर किड्नीका बिरामीलाई उपचार सेवा उपलब्ध गराउनै थालेको १० वर्ष भइसकेको छ । उनी हरेक महिना धनगढी पुग्छन् र किड्नी रोगका बिरामी हेर्छन् ।
मार्क अस्पतालमात्रै डा. अर्चनको गोल होइन् । उनको प्राथमिकता प्रत्यारोपण सेवा सुरु गर्नु हो । ‘मिर्गौला फेल भएका बिरामीको अन्तिम उपचार प्रत्यारोपण नै हो,’ उनी भन्छन्, ‘डायलाइसिसले त आयु बढाउने मात्र हो ।’ त्यसका लागि उनले आगामी दुई वर्षभित्र प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्यका साथ काम गरिरहेका छन् । मार्कको दमक र बुटवलमा पनि ओपिडी सेवा सुरु भइसकेको छ । सुर्खेतमा पनि डा. दिवाकर मानन्धरले बिरामी हेर्न थालेका छन् भने त्यहाँ पनि मार्कले डायलाइसिस सुरु गर्ने तयारी अगाडि बढाएको छ ।
हाल नेपालमा हरेक वर्ष तीन हजार नयाँ डायलाइसिस बिरामी थपिन्छन् । तर, मिर्गौला प्रत्यारोपण ५०० भन्दा कमको मात्र हुन्छ । यो ग्यापलाई कम गर्न सरकारी बिमा नीति र विपन्न वर्गको परिभाषामा पनि परिवर्तन गर्नुपर्ने डा. अर्चन बताउँछन् । ‘दुई वर्षभित्र त मार्कले मिर्गौला प्रत्यारोपण सुरु गर्नैपर्छ,’ उनी भन्छन् ।

मार्कले प्रत्यारोपण सेवा सुरु गरिसकेपछि दमक, बुटवल, वीरेन्द्रनगर धनगढीका सेन्टरहरुसमेत गर्दा ५०० जनाभन्दा बढीले रोजगारी पाउनेछन् । त्यसको लगानी झण्डै ५० करोड रुपैयाँ प्रोजेक्सन गरिएको छ । ‘लगानी झण्डै ५० करोडको प्रोजेक्सन गरेका छौं । सातै प्रदेशमा कम्तिमा एउटा डायलाइसिस सेन्टर र प्रि–ट्रान्सप्लान्ट वर्कअप सेन्टर खोल्ने योजना छ,’ उनी भविष्यको योजना सुनाउँछन्, ‘दमक वा धनगढीको बिरामी काठमाडौं आउँदा रिपोर्ट कुरेर बस्दा धेरै खर्च हुन्छ । उसको घर पायक पर्ने ठाउँमै सबै जाँचहरु गरेर फिट भएपछि मात्र प्रत्यारोपणका लागि काठमाडौं बोलाउँदा धेरै सहज हुनेछ ।’ डा. अर्चन मेडिकल क्षेत्रमा कर्मचारीहरु जोडिने र छोडिने समस्यालाई मुख्य चुनौती मान्छन् ।
मनकारी डाक्टर बिरामी बचाउने अभियान
डा. अर्चन मिर्गौला रोगको उपचारमा मात्रै केन्द्रीत छैनन् । उनीले उपचारसँगसँगै बिरामीहरुलाई आर्थिक सहायता जुटाउने, प्रिभेन्टीभ हेल्थमा जोड दिने योजनाका साथ एउटा अभियान पनि चलाएका थिए । जुन अभियानको नाम हो—‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन’ ।

मनकारी मिर्गौला रोग विशेषज्ञ डा. अर्चनले अगाडि बढाइरहेको यो अभियान वि.सं. २०७३ तिरबाटै सुरु भएको हो । अहिलेसम्म यसले ५४ वटा जिल्लामा पुगेर धेरै ठाउँमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिसकेको छ ।
‘क्याम्प भनेको बिरामी हेरेर मात्र फर्कने होइन, त्यहाँ को बिरामी अप्ठ्यारोमा छ, उसलाई ल्याएर उपचार गर्ने हाम्रो उद्देश्य हुन्थ्यो,’ डा. अर्चन भन्छन्, ‘हामीले ५० जनाभन्दा बढीको त फ्री बायोप्सी नै गरिसकेका छौं ।’ बिरामीलाई उसको घरबाट काठमाडौंसम्म ल्याउने, बायोप्सी गर्ने र घर फर्काउनेसम्मको खर्च अभियानले नै व्यवहोरेको उनले बताए ।