प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्प, आगलागी वा अन्य कुनै विपद् मानव जीवनका लागि ठूलो चुनौती हो । विपत्तिले घर, सम्पत्ति र भौतिक संरचनामा मात्र क्षति पुर्याउँदैन, यसले मानिसको मन र भावनामा पनि गहिरो असर पार्न सक्छ ।
यस्तो समयमा डर, चिन्ता, तनाव, निराशा, निद्रा नलाग्ने, भविष्यप्रति अन्योल हुनेजस्ता समस्या देखिनु स्वाभाविक हो । त्यसैले विपद्को समयमा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको संरक्षण पनि उत्तिकै आवश्यक हुन्छ ।
मन बलियो हुनु भनेको भावना दबाउनु होइन । विपत्तिको समयमा डर लाग्नु, रुन मन लाग्नु वा आफू कमजोर भएको महसुस हुनु असामान्य होइन । मानसिक रूपमा बलियो हुनु भनेको दुःख र पीडा लुकाउनु होइन बरु आफ्नो भावनालाई स्वीकार गर्दै कठिन परिस्थितिसँग सामना गर्ने क्षमता विकास गर्नु हो ।
‘मलाई डर लागेको छ’ भन्न सक्नु कमजोरी होइन् । आफ्नो भावना परिवार, साथी वा विश्वासिलो व्यक्तिसँग खुलेर बाँड्नु मानसिक स्वास्थ्यका लागि सकारात्मक कदम हो ।
आत्मविश्वास कसरी बढाउने?
१. वर्तमान परिस्थितिलाई स्वीकार गरौं
सबै कुरा आफ्नो नियन्त्रणमा हुँदैन । अहिले के गर्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरौँ । सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ ।
२. सकारात्मक सोच र आशा कायम राखौँ
विपत्ति अस्थायी हुन सक्छ तर आशा र हिम्मतले पुनर्निर्माणको बाटो देखाउँछ । नकारात्मक समाचार निरन्तर हेर्नुभन्दा आवश्यक र विश्वसनीय सूचना मात्र लिने बानी बसालौँ ।
३. एक–अर्काको साथ बनौँ
विपद्को समयमा सामाजिक सम्बन्ध नै ठूलो शक्ति हो । छिमेकीलाई सहयोग गर्ने, पीडितको कुरा सुन्ने, वृद्धवृद्धा, बालबालिका र असहाय व्यक्तिको हेरचाह गर्ने कार्यले उनीहरूलाई मात्र होइन, सहयोग गर्ने व्यक्तिको आत्मविश्वास पनि बढाउँछ ।
४. शरीरलाई सक्रिय राखौँ
सम्भव भएसम्म हल्का व्यायाम, योग, प्राणायाम र श्वास–प्रश्वासका अभ्यासले तनाव कम गर्न र मनलाई शान्त बनाउन सहयोग गर्न सक्छ । केही मिनेट गहिरो र नियमित श्वास लिनु पनि उपयोगी हुन सक्छ ।
५. दैनिक जीवनमा सानो नियमितता कायम राखौँ
सम्भव भएसम्म नियमित खाना, पर्याप्त आराम, निद्रा र व्यक्तिगत सरसफाइमा ध्यान दिऔँ । कठिन अवस्थामा पनि सानो दिनचर्या कायम राख्दा मनलाई स्थिर राख्न मद्दत हुन्छ ।
प्राकृतिक विपत्तिपछि मानसिक पीडा बाहिरबाट देखिँदैन् । चोट लागेको शरीरको उपचार भएजस्तै डर, आघात र तनावमा परेको मनलाई पनि समय, साथ र आवश्यक परे विशेषज्ञको सहयोग चाहिन्छ ।
यदि कसैमा लामो समयसम्म अत्यधिक डर, निराशा, निद्रामा गम्भीर समस्या, दैनिक काम गर्न नसक्ने अवस्था वा आफूलाई हानी पुर्याउने विचार देखिएमा मानसिक स्वास्थ्य विशेषज्ञ वा स्वास्थ्यकर्मीबाट सहयोग लिनु अत्यन्त आवश्यक हुन्छ ।
प्राकृतिक विपत्तिले हाम्रो परीक्षा लिन सक्छ । तर, यसले हाम्रो एकता, मानवता, आत्मविश्वास र पुनः उठ्ने क्षमतालाई पराजित गर्न सक्दैन् ।
आज हामी सुरक्षित हुन एक–अर्काको हात समाऔँ । पीडितलाई केवल राहत सामग्री होइन, सहानुभूति, सम्मान, आशा र मानसिक साथ पनि दिऔँ ।