काठमाडौं– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको माउ संस्थ बीएलसी ग्लोबल होल्डिङ्ससँग आवद्ध संस्थाहरुले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणमा सहजीकरणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
होल्डिङ्ससँग आवद्ध संस्थाहरु नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीजलगायतका तर्फबाट एक/एक करोड गरी कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
बुधबार होल्डिङ्सका सह–अध्यक्ष एवं नर्भिकका निर्देशक मेघा चौधरी तथा नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सिईओ अजयकुमार मिश्र र नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै होल्डिङ्सका सह–अध्यक्ष एवं नर्भिकका निर्देशक मेघा चौधरीले विपद्को अवस्थामा सरकारबाट संचालन हुने राहत तथा पुननिर्माणको कार्यलाई सहजीकरण गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड भन्दा बढी रकम सहयोग गरेको बताइन् ।
‘यो सहयोग रकम आफैंमा धेरै ठूलो नभए पनि यो रकम बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रुपमा प्रयोग हुने विश्वास लिएका छौं,’ उनले भनिन् । चौधरीले अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आवद्ध सबै संस्थाहरु सरकारका साथमा सहकार्यका लागि प्रतिबद्ध रहेको पनि बताइन् । उद्धार, राहत तथा पुनस्थापनामा खटिएका सबै संघसंस्था तथा व्यक्तिप्रति उनले सम्मान पनि व्यक्त गरिन् ।
बिएलसी होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार र पुनस्थापनका लागि ३ करोड सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार होल्डिङ्ससँग आवद्ध संस्थाहरुबाट ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरिएको हो ।