२०८३ भदौ ३१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव

आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव


काठमाडौं—सरकारले महत्वपूर्ण नीतिगत परिवर्तन गर्ने योजनाअनुरुप आमालाई कम्तिमा ६ महिना तलबसहितको प्रसूति विदा दिने प्रस्ताव गरेको छ । बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन विधेयकमा उक्त व्यवस्था गरिएको जानकारी दिएकी छन् ।

यस्तै, बुवालाई ४२ दिनसम्म तबलसहित प्रसूति स्याहार विदाको प्रस्ताव विधेयकमा गरिएको मन्त्री गौतमले बताएकी छन् । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन विधेयक सरकारले संसदमा लैजाने तयारी गरेको समेत उनले जानकारी दिइन् ।

‘विधेयकमा आमालाई कम्तिमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुवालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ,’ उनले फेसबुकमा भनेकी छन्, ‘सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो ।’

गौतमले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भएको र बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएको बताएकी छन् । ‘बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो । तर, बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन्,’ उनले भनिन् ।

अहिलेको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको उल्लेख गर्दै कानुनमन्त्रीले जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको धारणा व्यक्त गरेकी छन् ।

‘यही सोचसहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको छ र अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारीमा छौं,’ उनले भनेकी छन् ।

यसअघि आमाले तलबसहित ९८ दिनसम्म प्रसूति विदा पाउने व्यवस्था थियो भने बुवालाई १५ दिन विदाको व्यवस्था रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ