२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा

ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा


जुम्ला—जिल्लाकै ठूलो ५० शय्याको जाजरकोट अस्पतालमा ब्लड बैंक नहुँदा उपचारका लागि आउने बिरामीले सास्ती खेप्नु परेको छ । आकस्मिक अवस्थामा रगत आवश्यक पर्दा बिरामीका आफन्तले सामाजिक सञ्जालमार्फत रक्तदाता खोज्नुपर्ने र समयमै रगत नपाए सुर्खेत वा नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता छ।

भेरी नगरपालिका–३, थाप्लेचौरस्थित अस्पताल १५ शय्याबाट स्तरोन्नति गरी ५० शैय्याको बनाइए पनि अत्यावश्यक रक्तसञ्चार सेवा सञ्चालन हुन सकेको छैन । विशेषगरी सुत्केरी, आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामी र दुर्घटनाका घाइतेलाई रगतको व्यवस्था गर्न समस्या हुने गरेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोटका अध्यक्ष प्रेम क्षेत्रीका अनुसार अस्पतालमा मासिक करिब १० पिन्ट रगत आवश्यक पर्ने गरेको छ । समाजले रक्तदाता खोजेर रगत उपलब्ध गराउँदै आएपनि तत्काल रक्तदाता नभेटिँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

रगत आवश्यक पर्दा आफैँ रक्तदाता खोज्नुपर्ने बाध्यता रहेको भेरी नगरपालिका–५ की सुनिता विकले बताइन् ।

कुशे गाउँपालिका–५ की कमला वादीले आफूलाई ‘ओ पोजेटिभ’ रगत आवश्यक पर्दा आफैंले रक्तदाता जुटाउन नसकेपछि नेपाल स्वयंसेवी रक्तदाता समाजको सहयोग लिनु परेको बताए ।

उनले गरिब, दलित, विपन्न तथा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बिरामीका लागि यस्तो अवस्था अझ कठिन हुने बताए । ‘ठूलो अस्पताल बनेर मात्रै भएन, बिरामीलाई चाहिने अत्यावश्यक सेवा पनि अस्पतालमै उपलब्ध हुनुपर्छ,’ उनले भने, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकारले नागरिकको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न ध्यान दिनुपर्छ।’

अस्पतालका प्रमुख सुनिल पुनले बजेट अभावका कारण ब्लड बैंक स्थापना गर्न नसकिएको बताए । उनका अनुसार सेवा सञ्चालनका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलगायत सम्बन्धित निकायसँग पटक—पटक माग गरिएको छ ।

स्थानीयले आकस्मिक अवस्थामा रगत अभावकै कारण बिरामीको ज्यान जोखिममा पर्न सक्ने भन्दै अस्पतालमा ब्लड बैंक स्थापना गरी सेवा सञ्चालन गर्न तीनै तहका सरकारसँग माग गरेका छन्।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ