२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटकोरोनाले बदलेको कर्पोरेट शैली, पूजा गरेर मनाइयो नर्भिकको वार्षिकोत्सव

कोरोनाले बदलेको कर्पोरेट शैली, पूजा गरेर मनाइयो नर्भिकको वार्षिकोत्सव


काठमाडौं – कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड लागू भएसँगै नेपालीहरुको जीवनशैलीमा समेत परिवर्तन आएको छ । सानोतिनो कार्यक्रममा समेत जमात नै भेला भएर उत्सवमय बनाउने पुरानो परम्परामा अहिले परिवर्तन हुँदै गएको छ ।

यसैको परिणाम, ठूला संस्था तथा कर्पोरेट हाउसहरुले आफ्नो वार्षिकोत्सव मनाउने शैली समेत फरक बनाउन थालेका छन् । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो २८ औं वार्षिकोत्सवमा पनि यस्तै फरक शैली अपनायो ।

अस्पतालले अघिल्लो वर्षको २७ औं वार्षिकोत्सव मनाउन पाएको थिएन । गत वर्ष बैशाख १ गते सरकारले विभिन्न क्षेत्रमा निषेधाज्ञाहरु लागू गरेको थियो । यसकै कारण नर्भिकले वार्षिकोत्सव मनाउन सकेन । यो वर्ष पनि कोरोनाको दोश्रो लहर सुरु भएको भनिएको छ । तर, गत वर्षको जस्तो आवतजावत नै ठप्प हुने खालको कडाई गरिएको छैन ।

जनस्वास्थ्यको मापदण्डहरु पालना गरेर मात्र उत्सवहरु मनाउन सरकारले गरेको आग्रहलाई साथ दिंदै नर्भिकले यस वर्ष अस्पताल परिसरकै मन्दिरमा पूजा लगाएर वार्षिकोत्सव मनायो । पूजा कार्यक्रममा पण्डितसहित ५ जना मात्र सहभागी थिए । सबै कर्मचारीलाई सहभागी गराउँदा भीडभाड हुने र संक्रमणको जोखिम हुने निश्कर्ष निकाल्दै आफूहरुले ५ जनाको सहभागितामा पूजा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको नर्भिकका अपरेशन हेड कपील गौतमले जानकारी दिए ।

कोरोना आउनुभन्दा अघिल्ला वर्षहरुमा नर्भिकको वार्षिकोत्सव विशेष हुन्थ्यो । भव्य समारोहका बीच तत् समयका स्वास्थ्यमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मका व्यक्तित्वहरुलाई निम्त्याएर वार्षिकोत्सव मनाइन्थ्यो । ‘तर, कोरोनाले यी सबै कुरा स्थगन गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।’ गौतमले भने–‘वार्षिकोत्सव वा यस्तै कुनै उत्सव मनाउँदा देशबासीले समेत सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने र छिटोछरितो ढंगले फरक शैली अपनाउन सक्छन् भन्ने सन्देश समेत हामीले दिन खोजेका हौं ।’

नर्भिक अस्पतालले वार्षिकोत्सवकै अवसर पारेर आफ्नो अस्पताल क्षेत्रमा प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउने घोषणा समेत गरेको छ । यो घोषणाको पूर्ण कार्यान्वयन केही दिनको तयारीपछि हुने गौतमले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ