२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटमोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार हुँदै

मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार हुँदै


काठमाडौं –  दुर्घटनामा परेर तीन वर्षदेखि अर्धचेत अवस्थाना पुगेकी कलाकार तथा मोडल निशा घिमिरे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छिन्। आर्थिक अभावका कारण उपचार नपाएकी मोडल घिमिरेलाई  बिहिबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको  हो।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल घिमिरेको  नि:शुक्ल उपचारको व्यवस्था गरेकी छिन्।

कुनैसमयमा मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाडौँमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोभिड संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । उनको आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार हुन् नसकेको नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले बताए। दाहालले उनको उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका छन्।

उनले भने,‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिए, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उनले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’

दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँछन् ।

नर्भिकमा प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने, ‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् ।

समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ