२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटकाठमाडौं नेचुरोपेथी अस्पतालको उपप्रधानमन्त्री पोखरेलबाट उद्घाटन

काठमाडौं नेचुरोपेथी अस्पतालको उपप्रधानमन्त्री पोखरेलबाट उद्घाटन


काठमाडौं—अत्याधुनिक सुविधासहित सुरु भएको काठमाडौं नेचुरोपेथी अस्पतालको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । काठमाडौंको बसुन्धरामा स्थापित अस्पतालको आइतबार भव्य समारोहबीच उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुने युनिक अस्पताल भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

‘सायद म यस अस्पतालको उद्घाटन गर्न नआएको भए सधैं पछुताउने रहेछु, यस अस्पतालको दिने अत्याधुनिक सेवाहरु थाहा पाउँदा निकै खुसी भएको छु,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

गुणस्तरीय स्वास्थ्य भएमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुने उनले बताए । प्राकृतिक चिकित्साको माध्यमबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर काठमाडौं नेचुरोपेथी अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको बताउँदै उनले भने, ‘राम्रो कामको थालनी भएको छ, अखण्डित ढंगले सेवा प्रदान गर्नुहोस् ।’ अस्पतालको विकासका लागि सरकारका तर्फबाट सहयोग गरिने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री रामबहादुर गुरुङले दीर्घकालीन रोगीहरुको संख्या बढेकाले प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको बताए । उनले काठमाडौं नेचुरोपेथी अस्पतालले गुणस्तरीय सेवा दिनेमा आफू ढुक्क रहेको बताए । वरिष्ठ प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलले सरुवा रोगको उपचारका लागि ठूलो धनराशी खर्च गरेपनि नसर्ने रोगका बारेमा काम गर्न नसकेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एलोपेथिक मन्त्रालयका रूपमा मात्र सिमित उनको भनाइ थियो ।

अस्पतालका अध्यक्ष गणेश पाण्डेले स्थापनाको डेढ महिनामै अस्पतालमा बिरामीको चाप बढेको बताए । प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गर्ने अध्यक्ष गणेश पाण्डेले जानकारी दिए । अस्पतालमा बहिरंग, अन्तरंग, प्रयोगशाला, विशिष्ट आवास कक्ष, जीवनशैली क्लिनिक आदि सुविधा छन् ।

विना औषधी र विना शल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा प्यारालाइसिस, नशा च्यापिएको, हड्डी खिइएको तथा कम्मर, गर्धन दुखाई, बाथ, उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दमजस्ता रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा. यञ्जन गैरेले जानकारी दिए ।

कार्यक्रममा शरीरको तल्लो भाग नचल्ने भएर काठमाडौं नेचुरोपेथी अस्पतालमा भर्ना भएर बसेका त्रिपाठी तिवारीले अन्य अस्पतालमा उपचार हुन नसकेपछि आफू यस अस्पतालमा आएको र आएको एक साताबाटै ठीक भएको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ