२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा

गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा


पोखरा—प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु हुँदासम्म आईसीयु र भेन्टिलेटर सेवा सञ्चालन आउन सकेको छैन । प्रदेश सरकारले करिब १३ महिनाअघि साविक लायन्स सामुदायिक अस्पताललाई आफ्नो मातहत ल्याएर कोरोनाका बिरामीको उपचार गर्ने बताएपनि गम्भीर बिरामी उपचार गर्न प्रयोग हुने आईसीयु र भेन्टिलेटर सञ्चालन गर्न सकेको छैन ।

गण्डकी प्रदेशमा कोरोना संक्रमित जटिल समस्या भएका बिरामीलाई उपचार गर्न कुन अस्पतालमा के कस्तो अवस्था छ भन्ने तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको छ । निर्देशनालयले गण्डकीमा ६ वटा अस्पताललाई मुख्य उपचार केन्द्र तोकेको छ भने १३ वटा अन्य अस्पतालमा पनि कोरोना संक्रमित बिरामीको उपचारको लागि आईसीयु तथा भेन्टिलेटर शैय्या व्यवस्थापन गरिएको जनाएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशभरमा २ सय ४१ आईसीयु बेड रहेका छन् । जसमा ५५ बेडमा बिरामी भर्ना छन् भने १ सय ७३ बेड उपलब्ध छन् । जसअनुसार कास्कीमा मात्रै १ सय २७ आईसीयु बेड छन् । प्रदेशमा जम्मा ६२ वटा भेन्टिलेटर रहेकोमा ४ वटा प्रयोगमा रहेको निर्देशनालयले जनाएको छ । ५१ वटा भेन्टिलेटर उपलब्ध छन् । कास्कीमा मात्रै ५४ वटा भेन्टिलेटर छन् ।

कास्कीबाहिर गोरखा जिल्ला अस्पतालमा १, धौलागिरी अस्पताल बागलुङमा ३, मध्यबिन्दु अस्पताल नवलपरासी पूर्वमा ५, पर्वत जिल्ला अस्पतालमा ५ आईसीयु बेड रहेका छन् ।

गण्डकी प्रदेश सरकारले साविक लायन्स सामुदायिक अस्पताललाई आफू मातहत ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल बनायो । तथापि अहिलेसम्म आइसियु तथा भेन्टिलेटर सेवा सञ्चालनमा आएको छैन । सो अस्पतालमा ९ वटा आईसीयु र ६ वटा भेन्टिलेटर बेड राख्ने योजना छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी मणिपाल शिक्षण अस्पतालमा १५ वटा भेन्टिलेटर छन् भने गण्डकी मेडिकल कलेजमा १० वटा भेन्टिलेटर छन् । प्रदेशकै ठूलो सरकारी अस्पताल तथा शिक्षण अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ वटा भेन्टिलेटर छन् । जहाँ ४० वटा आईसीयु बेड रहेको निर्देशनालयले जनाएको छ ।

आइतबारमात्रै ८१ संक्रमित

गण्डकी प्रदेशमा आइतबार मात्रै ८१ जना संक्रमित भएका छन् । जसमा ६१ जना कास्कीका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । नवलपुर मध्यबिन्दु अस्पतालमा गरिएका जाँचबाट कावासोतीका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्याङ्जाका ५, तनहुँ र पर्वतका २÷२ तथा बागलुङका १० जनामा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ