२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘खेर गयो कोभिशिल्डको खोप, कति गयो एकिन छैन’

‘खेर गयो कोभिशिल्डको खोप, कति गयो एकिन छैन’


पोखरा –  जिल्ला स्वास्थ्य कार्यालय कास्कीमा कोभिशिल्ड खोप खेर गएको बताइएको छ । स्वास्थ्य कार्यालय मातहतकै एक कर्मचारीका अनुसार खोप म्याद नाघेर खेर गएको हो ।

कति खेर गयो भन्ने एकिन तथ्यांक भने उनीसँग छैन । ‘सबैलाई पुग्ने खोप नभएकाले असहज भएर पनि हो, तर जति पुग्छ त्यतिलाई नै लगाइदिएको भए खेर जाने त थिएन नि । कति खेर गयो भन्ने एकिन तथ्यांक छैन, ‘ती कर्मचारीले भने, ‘कतिपय कर्मचारीका आफन्त, नातागोताले भने पहूँचका आधारमा कार्यालयमै पुगेर खोप लगाएका थिए ।’

सरकारले खोप लगाउन प्राथमिकता निर्धारण गर्दै कोभिडविरुद्धको खोप लगाउन निर्देशन दिएको थियो । खोपको प्राथमिकतामा वैदेशिक रोजगारीमा जानेहरुलाई पनि राखिएको छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि भिसाका आधारमा १ भदौमा प्रदर्शनी केन्द्र नयाँ बजार पोखरामा खोप लगाइने पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जनाएका छन् ।

यस्तै, पोखरा महानगरले ३१ र ३२ साउनमा ६५ वर्ष माथिका कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई एस्ट्राजेनिका खोप दोस्रो मात्राका रुपमा दिने भएको छ । यसका लागि पोखरा महानगरमा ४९ खोप केन्द्र निर्धारण गरिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माद्वारा जारी सूचनामा जनाइएको छ ।

कोभिड-१९ विरुद्ध खोप लगाउने प्राथमिकतामा परेका ज्येष्ठ नागरिकले कोभिसिल्ड पहिलो मात्रा लगाएका भए पनि दोस्रो मात्रा लगाउन पाउने आशामा थिए । कोभिशिल्ड नै नआएपछि अहिले एस्ट्राजेनेका लगाउन लागिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १ लाख ३८ हजार ३२२, मनाङमा ३ हजार ५३३, मुस्ताङमा ६ हजार ४६७,म्याग्दीमा ६१ हजार ९९५ जना १८ वर्ष माथिका रहेको स्टिमेट गरिएको छ । यस्तै, कास्कीमा ३ लाख २४ हजार ७९३, लमजुङमा ९५ हजार ८४९, तनहुँमा १ लाख ९२ हजार ७१२ जना १८ वर्षमाथिका रहेको अनुमान गरिएको छ ।

यसैगरी नवलरासी पूर्वमा १लाख ९५ हजार ७९४, स्याङ्जामा १ लाख ४१ हजार २४९, पर्वतमा ८२ हजार ८१७ र बागलुङमा १ लाख ५७ हजार ९३६ जना १८ वर्ष माथिका रहेको अनुमान गरिएको थियो ।

गण्डकीमा कूल १४ लाख १ हजार ४६७ जनालाई खोप लगाउने स्टिमेट गरिएको थियो । जसमध्ये २ लाख ३७ हजार १२५ जनाले कोरोनाविरुद्धको पूरा मात्रा लगाएका छन् भने ५ लाख ४८ हजार ८८० जनाले पहिलो मात्रा लगाएका छन् । मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त जिल्ला भइसकेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ