२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी अस्पतालमा पहिलोपटक भयो पेट चिरेर पाठेघर निकाल्ने शल्यक्रिया

धौलागिरी अस्पतालमा पहिलोपटक भयो पेट चिरेर पाठेघर निकाल्ने शल्यक्रिया

पोखरालगायत अन्य सहर जानुपर्ने बाध्यता हट्यो


पोखरा-बागलुङको बागलुङ नगरपालिका-५ की ३६ वर्षीया एक महिलालाई लामो समयदेखि पाठेघरसम्बन्धी समस्याले सताइरह्यो । औषधी खाएर निको होला कि सोचेकी उनमा समस्या समाधान हुन त परै जाओस् झन् समस्याले बल्झिन थाल्यो ।

उनलाई पाठेघरबाट रगत बग्ने समस्या झन् जटिल बन्न थाल्यो । धेरै नै औषधी खाइरहिन् तर निको भएन् । उनी धौलागिरी अञ्चल अस्पताल पुगिन् । अस्पतालका चिकित्सकलाई पनि पाठेघरसम्बन्धी त्यस किसिमको समस्याको शल्यक्रिया गरी गरिने उपचार पहिलो नै थियो । उपचार गर्न पेट चिरेर शल्यक्रिया गरी पाठेघर निकालेर फ्याक्नेबाहेक विकल्प भएन ।

चिकित्सकले शल्यक्रियामार्फत उपचार गर्न सुझाएपछि उनको गत ३० कात्तिकमा शल्यक्रिया गरिएको थियो । स्त्रीरोग विशेषज्ञ डा. केशव आचार्यको नेतृत्वमा एनेस्थेसियोलोजिस्ट डा. नवीन पौडेल, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक देवी भट्टराई र एनेस्थेसियोलोजिस्ट एसिस्टेन्ट अनिल यादवलगायतको टोलीले उनको शल्यक्रिया गरेको हो । अस्पतालले पहिलो पटक पेट चिरेर पाठेघर फाल्ने शल्यक्रिया गरिएको र सफल भएको जनाएको छ ।

धेरै रगत बगेको तथा पाठेघरमा मासु पलाएको अवस्थामा यसप्रकारको शल्यक्रिया गर्नुपर्ने नर्सिङ निरीक्षक भट्टराईले बताइन् । उनका अनुसार यसअघि पाठेघर निकाल्ने फरक किसिमको शल्यक्रिया भने भइरहेका थिए ।

सफल शल्यक्रियापछि अस्पतालले बिरामीलाई डिस्चार्ज गरेको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको नर्सिङ निरीक्षक भट्टराईले बताइन् । बिरामीले व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने, गह्रौ भारी नउचाल्ने जस्ता सावधानी अपनाउन जरुरी हुने र त्यसो नभए इन्फेक्सनको जोखिम रहने उनी बताउँछिन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ