२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमणिपाल विवाद : कलेज प्रशासनपछि अस्पताल प्रशासनमा पनि तालाबन्दी

मणिपाल विवाद : कलेज प्रशासनपछि अस्पताल प्रशासनमा पनि तालाबन्दी


पोखरा – पोखरास्थित मणिपाल शिक्षण कलेज प्रशासनमा तालाबन्दी भएको १ महिना भयो । कलेज प्रशासनको बेवास्ता र अटेरीका कारण कलेजतर्फको ताला खुल्न नसकिरहेको अवस्थामा अस्पताल प्रशासनतर्फको कार्यालयमा तालाबन्दी भएको छ ।

अस्पतालका विभिन्न संगठनमा आवद्ध कर्मचारीहरुले आफ्नो माग सुनुवाइ नभएको भन्दै तालाबन्दी गरेका हुन् । अस्पताल प्रशासनमा तालाबन्दी गरेको भए पनि अस्पताल सेवामा भने कुनै अवरोध छैन ।

आन्दोलित कर्मचारीहरुले आफ्ना आधारभूत माग पूरा नभए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । उनीहरुले मंगलबार विज्ञप्ति जारी गरी आफ्ना मागका बारेमा १२ पुष नै मणिपाल प्रशासनलाई पत्र दिएको जनाएका छन् ।

विज्ञप्तिमा १ वर्षअघि श्रम कार्यालय गण्डकीमा भएको सम्झौता लागु गर्न इन्कार गरेको, सुत्केरी विदाका कर्मचारीको तलबकट्टा गरेको, कर्मचारीलाई जोखिमपूर्ण तरिकाले काममा लगाएको आरोप छ । ‘व्यवस्थापनले यसरी नै आलटाल गर्दै गएमा विरोधका कार्यक्रम अझै बढाउँदै लगिने समेत जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा मणिपाल कर्मचारी युनियन समन्वय समिति अध्यक्ष जीवन थापा, मणिपाल स्वतन्त्र कर्मचारी युनियन अध्यक्ष नवराज भण्डारी, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृत पौडेल, अखिल नेपाल स्वास्थ्यकर्मी संघका कार्यवाहक अध्यक्ष नरेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

विदेशी लगानीमा सञ्चालन भइरहेको मणिपाल शिक्षण अस्पताल तथा कलेज पछिल्लो समय नेपाली लगानीकर्ताले खरिद गरेको बताइएको छ । तर, अस्पतालका व्यवस्थापनमा भने परिवर्तन देखिएको छैन ।

अस्पताल प्रशासनले पटक-पटक झुट बोल्ने र धोका दिने गरेको कर्मचारीको आरोप छ । मणिपाल स्वतन्त्र कर्मचारी युनियन अध्यक्ष नवराज भण्डारी अस्पताल प्रशासनले सामाजिक सुरक्षा कोष लागु गरेको भन्ने र सञ्चय कोषमा रकम जम्मा गरिरहेको कुरा पनि नबुझेको बताउँछन् ।

२०७४ पछि रिटायर्ड भएकाहरुले पाउनुपर्ने सुविधा पनि नपाएको उनले बताए । उनले भने, ‘हामी बाध्य भएका हौं, श्रम कार्यालय पोखराका हाकिम ईश्वरीदत्त न्यौपानेले फाइल श्रम विभाग र मन्त्रालय पठाउनु भयो । त्रिपक्षीय वार्ताको पहल गर्नुभएन । मन्त्रालयमा मन्त्रीबाट राम्रै सहयोग भएको थियो तर कर्मचारीबाट सहयोग पाइएन ।’

‘हामी काठमाडौं विभाग पुग्दा डकुमेन्ट पुगेन भन्दैनन्, तर हामी पोखरा आएपछि डकुमेन्ट पुगेन भनेर फाइल थन्काइदिन्छन् । हामीलाई अभिभावक रहेको राज्यले पनि असहयोग गरेको छ ,’उनले थपे।

कलेज प्रशासनको अटेरले खुलेन ताला

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै मणिपाल शिक्षण कलेजमा गत मंसिर २० गते विद्यार्थीहरुले लगाएको ताला अझै खुलेको छैन । कलेज प्रशासनमा अनेरास्ववियुको नेतृत्वमा गएको विद्यार्थी टोलीले प्रशासकीय भवनमा तालाबन्दी गरेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य मणिपाल कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगको नियमानुसार नै काम अघि बढ्नुपर्ने बताए । उनले भने, ‘हामीले पहिले नै भनेका थियौ, होस्टेल अप्सन गर्नुपर्छ र मूल्य वृद्धि भएको भनिएको शुल्क लिनु हुँदैन ।’ मेडिकल काउन्सिलको निर्देशन पनि सोहीअनुसार नै आएपछि नियमानुसार कलेज खोल्नै पर्ने प्रजिअले बताए ।

अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलका अनुसार बुधबार यस विषयमा वार्ता हुने भएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ