२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकर्मवीर डा. शरद, जसले कोभिड–१९ मा उत्कृष्ट काम गरेवापत ‘स्वास्थ्य सेवा सम्मान’ पाए

कर्मवीर डा. शरद, जसले कोभिड–१९ मा उत्कृष्ट काम गरेवापत ‘स्वास्थ्य सेवा सम्मान’ पाए

जसले एमडीको छात्रवृत्ति त्यागेर सरकारी सेवा रोजेका थिए


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अधिकृत डा. शरद्चन्द्र बराल कोभिड–१९ को उपचारमा उत्कृष्ट सेवा पु¥याएवापत सम्मानित भएका छन् । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा देशभरबाट १० जनालाई ‘स्वास्थ्य सेवा सम्मान’ प्रदान गरेको हो । तीमध्ये डा. बराल पोखरा पनि एक हुन् । ‘मैले गरेको कामको मूल्यांकन भएको महसुस गरेको छु । आत्मसन्तुष्टि मिलेको छ,’ उनले भने । सम्मानले थप काम गर्न प्रेरित गरेको बताउँदैं उनले दिएको जिम्मेवारी बहन गर्न सक्छु भन्ने आत्मविश्वास बढेको उल्लेख गरे ।

डा. बराल पोखरा क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन पनि हुन् । कोभिड महामारीमा उनी मेडिकल अधिकृत भएर अस्पताल भित्रिँदा जनताकै लागि काम गर्छु भन्ने अठोट त थियो । तर, छोटो समयमै आम बिरामीको यति धेरै माया पाइहाल्छु भन्ने उनलाई लागेकै थिएन ।

पोखराको एसओएस हर्मन माइनर विद्यालयबाट विद्यालय तह पूरा गरेका बरालले प्लस टु मा बायोलोजी विषय रोजेका थिए । बुबा नेपाल सरकारअन्तर्गत निजामती सेवामा सहसचिव थिए भने आमा शिक्षक थिइन् । पारिवारिक वातावरण शिक्षित भएकाले नै उनलाई अध्ययनको सहज वातावरण बन्यो । तर, विज्ञानमा प्लस टु गरेका भएपनि उनी साथीको लहैलहैमा लागेर डाक्टरी पढ्न थालेका हुन् ।

‘मेडिकल साइन्स छात्रवृत्तिमा नै पढ्छु’ भन्ने जिकिरका कारण उनले ३ वर्ष खेर फाले । छात्रवृत्तिमा नाम निकाल्न नसकेपछि पहिलो र दोस्रो पटकसम्म त उनी त्रिचन्द्र कलेजमा केमेस्ट्री पढ्ने वा भरतपुर कृषि क्याम्पसमा कृषि पढ्ने भन्ने पनि सोच्न थाले । ‘तेस्रो पटकमा बल्ल शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नाम निकाल्न सफल भएँ,’ डा. बराल भन्छन् । मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा एमबिबिएस पढ्न सन् २००६ मा भर्ना भए । पढाइको ग्यापले गर्दा उनलाई सुरुका वर्षमा भने केही गाह्रो भयो । क्लिनिकल विषय सुरु भएपछि भने रमाइलो महसुस भएको उनले सम्झिए । मणिपालमा अध्ययनकै क्रममा उनी विद्यार्थीहरुको ‘पुअर पेसियन्ट फन्ड’ कोअर्डिनेटर भएर नेतृत्वको अनुभव लिएका थिए । उनले इन्टर्नसीप पनि मणिपालबाट नै गरे ।

छात्रवृत्तिमा डाक्टर बनेका कारण २ वर्ष सरकारी अस्पतालमा सेवा गर्नैपर्ने प्रावधान बमोजिम परासीको पृथ्वीचन्द्र अस्पतालमा काम गर्न पुगेका उनले त्यहाँ १५ महिना बिताए । त्यसपछि ९ महिना भने मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र (हालको मदन भण्डारी मेमोरियल ट्रमा सेन्टर) मा काम गरे । मेडिकल अधिकृत रहेका उनी त्यतिबेलै पुरस्कृत भएका थिए ।

छात्रवृत्तिमा एमडी पढ्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्ने सोचमा थिए । उनले लोकसेवा आयोगको परीक्षा पनि दिइरहेका थिए । दोस्रो पटकमा उनले आयोगबाट नाम निकाल्न सफल भए । त्यतिबेला एमडी पढ्ने वा लोकसेवाको जागिर खाने २ मध्ये १ विकल्प रोज्नुपर्ने बाध्यता आइलाग्यो । उनले एमडी पढ्नै छाडेर मेडिकल अधिकृतको स्थायी जागिर रोजे । ‘मलाई त्यतिबेला गरेको निर्णय ठिकै हो जस्तो लाग्छ । कतिले त गल्ती गरेको पनि भन्नुहुन्थ्यो,’ उनले भने ।

अछाम अस्पताल प्रमुखदेखि कोभिड–१९ का बिरामीको उपचारसम्म

लोकसेवामा नाम निकालेपछि डा. शरद मंगलबारे नै जाने सोचमा थिए । तर, उनको पोस्टिङ अछाम जिल्ला अस्पतालमा भयो । स्थायी सेवा रोज्दा उनले छात्रवृत्तिमा एमडी पढ्ने अवसर गुमाए । मंगलबारेबाट अछाम पुगेका उनको स्त्रीरोग विशेषज्ञ बन्ने रुचिको विषय नै बद्लियो । साढे २ वर्ष अछाममा रहेका डा. बरालले जिल्ला स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । ‘त्यहाँ गएको पहिलो डेढ वर्षको अवधिमा पुरस्कृत हुँदा गर्वको अनुभूति भयो,’ उनले सम्झिएँ । अस्पतालको हरेक सूचकांकमा सुधार गर्दै उत्कृष्ट बनाउन सफल भएका थिए, उनी ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि पाएको छात्रवृत्ति छोडेका डा. बरालपछि वीर अस्पतालबाट छात्रवृत्तिमै इन्टरनल मेडिसिनमा एमडी गरे । स्वास्थ्य मन्त्रालयको समन्वयमा वीरमा एमडी गर्दै गर्दा ३५ जनाको नेतृत्व गरेर सुदूरपश्चिमको ९ वटा जिल्लामा कोभिड–१९ व्यवस्थापनमा उनी खटेका थिए । रुचि स्त्रीरोग विशेषज्ञ बन्ने भएपनि विभिन्न कारणले इन्टरनल मेडिसिन अध्ययन गरेको उनले सुनाए । डा. बरालको दरबन्दी अछाममा नै थियो । तर, उनी काजमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा खटाइए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा सुरु गर्दा उनीसँगै काम गर्ने अन्य १४ जना मेडिकल अधिकृत थिए । कोभिड व्यवस्थापन गर्न उनीहरुलाई आलोपालो खटाउने गरिन्थ्यो । हरेकले कोभिड वार्डमा २ हप्ता बिरामी हेर्नै पथ्र्यो ।

सुरुमा कोभिड–१९ त विशेषज्ञ डाक्टरका लागि नै अनभिज्ञ विषय थियो । ‘म आफैं अचम्ममा पर्छु, साथीहरु त्रसित हुँदा मलाई भने कहिल्यै डर लागेन्,’ उनले सुनाए, ‘कोभिड बिरामीमाझ र कोभिड वार्डमा रहेरै पनि अहिलेसम्म म संक्रमित भएको छैन । यो मेरा लागि खुसीको कुरा हो ।’ कोभिडको पहिलो लहरमा धेरै बिरामीको मृत्यु हुनुमा डाक्टरको पनि कमजोरी भएको उनको स्वीकारोक्ति थियो ।

कोभिड कहर सुरु हुँदा अनेकन समस्याहरु थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निजी कम्पनीहरुबाट अक्सिजन खरिद गर्नुपर्ने अवस्था थियो । डिफाइन उपचार पद्धति थिएन, थोरै जनशक्तिले धेरै बिरामी हेर्नुपर्दा केयर कमी हुने, जटिल अवस्थामा मात्रै बिरामी अस्पताल आउने, उपकरणको अभाव, बिरामीको आफन्त बिरामीबाट टाढिनु, एक्लो महसुस भई बिरामी आत्तिएर हुने थप समस्याका थिए । जसका कारण बिरामीको मृत्यु दर बढ्न पुगेको अनुभव उनको छ ।

कोभिडका जटिल बिरामी देख्नासाथ काठमाडौं रिफर गर्नुपर्ने अवस्थाले पनि कोभिड कहरमा खटिन उनी प्रेरित भएका थिए । ‘डाक्टरले आफूलाई बिरामीको ठाउँमा राखेर हेर्नुपर्छ । एक्लै गर्न सकिँदैन्, अस्पतालको सेवा टिमवर्क हो,’ डा. शरद भन्छन्, ‘बिरामीप्रति उत्तरदायी हुने हो भने बिरामीबाट सौहार्दता र आशीर्वाद पाइन्छ ।’

कोभिड उपचारका क्रममा २÷३ वटा केसमा दुव्र्यवहार सहनुपरेको उनले सुनाए । कोभिड फोकल पर्सनको जिम्मेवारी सम्हाल्दा डा. बरालले राति ३ बजे अस्पताल प्राङ्गणमा आँखाबाट आँसु झार्दै समस्या समाधानमा खट्नु परेको दुखद् क्षण अझै बिर्सिएका छैनन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुनुपर्ने मापदण्डअनुसारको बेड व्यवस्थापन गर्न नसक्दा पनि बिरामीलाई सेवा दिन कठिनाइ भएको उनले बताए । बिरामीको चाप बढ्ने, अस्पतालका भवन मर्मत तथा निर्माणकै क्रममा रहेकाले बेड संख्या कम हुँदा बिरामी मर्कामा परेको उनले उल्लेख गरे ।

सरकारी अस्पतालमा पनि पछिल्लो समय बिरामीको विश्वास बढेको उनको ठम्याइ छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाल दैनिक २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट जडान भएकाले अब अक्सिजन अभाव नहुने उनको तर्क थियो । अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजनमात्रै खपत हुने गरेको छ । जबकि कोभिड प्रकोपका बेला उच्चतम साढे ४ सय सिलिन्डर अक्सिजन खपत भएको रेकर्ड कायम भएको थियो । औषतमा २ देखि अढाइ सयसम्म आवश्यक हुन्थ्यो ।

अक्सिजनको समस्या करिब टुंगिए पनि क्रिटिकल केसका लागि आईसीयु बेडको अभाव नै रहेको उनी बताउँछन् । ‘क्रिटिकल केसमा विशिष्टीकृत सेवा दिन पहल भइरहको छ । अहिले ९ वटा मात्रै आईसीयु छन् । अस्पतालको क्षमताअनुसार यो संख्या अति नै न्यून हो । १ वर्षभित्र ३० वटा आईसीयु पु¥याउने गरी काम भइरहेको छ,’ उनले भने ।

कोेभिड कहरमा आफूहरु बिरामीको उपचार सफलतापूर्वक गर्न सफल भएको दाबी गर्दै डा. बरालले भने, ‘एक्लो प्रयासबाट सफल हुन सकिँदैन् । स्थानीय निकाय, विभिन्न संघसंस्था, आफ्ना तालुक निकाय र स्वास्थ्यकर्मीका कारण सफल भएका हौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ