२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्वास्थ्य बिमा बोर्ड नै बिरामी, जिल्ला सम्पर्क कार्यालय नवलपुरमा ताला

स्वास्थ्य बिमा बोर्ड नै बिरामी, जिल्ला सम्पर्क कार्यालय नवलपुरमा ताला


पोखरा— स्वास्थ्य बिमा दर्ता सहयोगीले जिल्ला स्वास्थ्य बिमामा सम्पर्क कार्यालय नवलपुरमा तालाबन्दी गरेका छन् । बिमाको जिल्ला सम्पर्क कार्यालय पुगेका दर्ता सहयोगीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएपश्चात् तालबन्दी गरेका हुन् ।

बिमा दर्ता समूहको टोलीले पूर्व जानकारी बिना नै कार्यालयमा आएको र ज्ञापनपत्र बुझाएलगत्तै कुनै कुरै नगरी तालाबन्दी गरेको बिमा बोर्ड नवलपुर जिल्ला प्रमुख जागेश्वर भुसाल बताउँछन् । ‘अकस्मात् आएर विषयवस्तुमा प्रवेश अलिकति गर्नुभयो । ध्यानार्षणपत्र, विज्ञप्ति दिनुभयो, ढ्यामढुम ताला लगाउनुभयो । हामीलाई अप्ठ्यारो पार्नुभयो,’ उनले भने ।

उनले ताला लगाएर गएपछि माथिका सबै निकायलाई जानकारी दिइएको बताए । मंगलबार तालाबन्दी गर्ने पक्षलाई वार्तामा बोलाउने, सम्भव भए बोर्ड काठमाडौंका प्रतिनिधिसमेत सहभागी गराउने योजना रहेको उनले बताए । ‘नभए यहाँको सहमति माथि केन्द्रमा कार्यान्वयन गराउन जोडदार माग गर्ने भन्ने छ,’ उनले थपे ।

प्रमुख भुसालका अनुसार आन्दोलित बिमा दर्ता सहयोगीका माग जिल्लामार्फत् सम्बोधन गर्न नसकिने खालका छन् । स्टेशनरी, फाराम जिल्लाले दिने अख्तियारी छैन, सेवा प्रदायकले समयमा भुक्तानी नपाउने, भुक्तानी नपाएपछि सेवा राम्रो नहुने, सेवा राम्रो नभएपछि बिमित दर्ता सहयोगीलाई कराउने र दर्ता सहयोगी बिमाको कार्यालय पुग्ने अवस्था रहेको छ ।

नवलपुर स्वास्थ्य बिमा कार्यालय प्रमुख भुसाल केन्द्रबाट सम्बोधन नहुँदा समस्या आएको बताउँछन् । ‘हामीले मंगलबारका लागि वार्तामा बोलाएका छौं । वार्तामा आउनुभएन भने सिडियो र प्रहरीको निर्देशन र सहयोगमा ताला तोडेर काम गर्ने वा के गर्ने भन्ने निष्कर्ष निकाल्छौंं । नत्र केन्द्रकै मुख ताक्नुको विकल्प छैन,’ उनले भने ।

बिमा दर्ता सहयोगीले करिब १ वर्ष अघिदेखिको पारिश्रमिक नपाएको, बिमितलाई स्वास्थ्य सेवा प्रदायक संस्थाले सम्मानजनक व्यवहार नगरेकोे, बिमाले समेटेको औषधी र गुणस्तरीय उपचारमा ध्यान नदिएको, केन्द्रीय बिमा बोर्डले समयमै सेवा प्रदायक संस्थालाई भुक्तानी नदिएको, स्वास्थ्य सेवा प्रादायक संस्थामा बिमा सहायता कक्ष स्थापना नगरिएको आरोप लगाएका छन् । यी सबैको समाधान केन्द्रीय बिमा बोर्डमात्र भएको नवलपुर प्रमुख भुसाल बताउँछन् । नवलपुर जिल्लामा २०७७ फागुनबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । जसका लागि ९२ जना दर्ता सहयोगी रहेका छन् ।

स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालय पोखराका संयोजक जीवलाल खरेल आफू काठमाडौंमा तालाबन्दीबारे बुझेर मात्रै भन्न सकिने बताउँछन् । यसअघिको कुराकानीमा संयोजक खरेल डाक्टरका कारण पनि केही औषधी नपाउने र स्वास्थ्य बिमा बोर्डले निरन्तर रुपमा बिमा दाबी भुक्तानी गरिरहेको दाबी गरेका थिए । तथापि देशभरबाट बिमा रकम भुक्तानी नहुँदा सेवामा सास्ती भएका समाचार आइरहेका छन् ।

बिमा रकम नपाएपछि सेवा बन्द गर्छाैं भन्ने सेवा प्रदायकलाई सेवा नियमित गर्न स्वास्थ्य बिमा बोर्डले आग्रहसमेत गरेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्री स्वास्थ्य बिमा बोर्डले समयमै भुक्तानी दिनै नसकेको बताउँछन् । ‘करोडौंं भुक्तानी गर्नुपर्ने बेला लाख भुक्तानी दिने गरेको छ,’ उनी भन्छन् ।

मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापा बिमा दाबी रकम १ करोड ७५ लाख हुँदा ५५ लाखमात्रै भुक्तानी पाएको बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ