२०८१ मंसीर २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशद्वारा ‘एच’ लेखिएका सरकारी सवारी साधन जथाभावी प्रयोगमा रोक

गण्डकी प्रदेशद्वारा ‘एच’ लेखिएका सरकारी सवारी साधन जथाभावी प्रयोगमा रोक

पदाधिकारीले सवारी साधनमा मनोमानी गर्न थालेपछि मेसुले अस्पतालको काममा मात्रै प्रयोग गर्न पाउने


पोखरा—गण्डकी प्रदेशले ‘एच’ लेखिएका सरकारी सवारी साधनको जथाभावी प्रयोगमा रोक लगाएको छ । १४ फागुनमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालहरुलाई पत्राचार गर्दै ‘एच’ लेखिएका सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरेको हो ।

अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसमेत व्यक्तिगत कामका लागि ‘एच’ लेखिएका सवारी साधनको दुरुपयोग गर्न थालेपछि प्रदेशले सवारी साधन प्रयोगमा कडाइ गरेको हो ।

‘अस्पतालसँग सम्बन्धित संवेदनशील एवं जरुरी कामबाहेक अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरु समेतले व्यक्तिगत कामका लागि ‘H’ लेखिएका अस्पतालका चारपाङ्ग्रे सवारी साधन प्रयोग गरिरहेको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा अस्पतालले प्रयोग गरेको चारपाङ्ग्रे सवारी साधन अस्पतालको मेडिकल सुपरिटेन्डेन्टले अस्पतालसँग सम्बन्धित काममा बाहेक अन्य काममा प्रयोग नगर्नु नगराउनु हुन जानकारी गराइन्छ,’ मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ ।

साथै, गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले चारपाङ्ग्रे सवारी साधन प्रयोग सन्दर्भमा सुक्ष्म अनुगमन गर्ने भएको छ । उसले अनुगमनका सवारी साधनको दुरुपयोग भएको पाइएमा त्यसको जिम्मेवार सम्बन्धित अस्पतालको मेसु र अस्पताल व्यवस्थापन समितिका पदाधिकारी जिम्मेवार हुने जनाएको छ ।

मन्त्रालयले आम नागरिकलाई छिटो÷छरितो रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने चारपाङ्ग्रे सवारी साधन अस्पताललाई उपलब्ध गराएको समेत उल्लेख गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ