२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशआयुर्वेदिक उपचार पद्धति प्रवर्द्धनमा गण्डकी प्रदेश प्रमुख भट्टको जोड

आयुर्वेदिक उपचार पद्धति प्रवर्द्धनमा गण्डकी प्रदेश प्रमुख भट्टको जोड


पोखरा—गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले जैविक विविधताका कारण नेपाल आयुर्वेदिक औषधिको विकासका लागि निकै उपयोगी क्षेत्र भएको बताएका छन् । आयुर्वेदिक औषधिले अन्य रोग ननिम्तने भएकाले मानव स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक उपचार पद्धतिलाई प्रवर्द्धन गरिनुपर्ने उनको भनाइ थियो ।

भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताए । शुक्रबार पोखरामा आयोजित आरोग्य अभियान, आयुर्वेद सेवासम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा उक्त कार्यक्रम भएको थियो ।

स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उनले आग्रह गरे । योग, ध्यान, सिद्धि, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको भन्दै प्रदेश प्रमुख भट्टले आफू पनि ७७ वर्षको उमेरमा स्वस्थ, तन्दुरुस्त भएको तर्क गरे ।

‘स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुनेछ । योग, ध्यान, साधना र व्यायामले व्यक्तिमा सकारात्मक सोचको विकासमा प्रेरणा मिल्छ,’ उनले भने, ‘मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पाटो नै स्वास्थ्य हो । त्यसैले स्वास्थ्य क्षेत्रको विकासलाई समग्र देशकै विकास र समृद्धिसँग जोड्नुपर्छ । नागरिक स्वस्थ भए मात्रै मुलुक स्वस्थ बन्न सक्छ ।’

नेपालमा आयुर्वेदिक औषधोपचारलाई प्रवर्द्धन गर्नका लागि यस्ता आयुर्वेद सेवासम्बन्धी अन्तक्रिया एवं छलफलले योजना तयार गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ