२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘कोभिड–१९’ विरुद्ध मोर्चा कस्दैं गरेका स्वास्थ्यकर्मीका पक्षमा

‘कोभिड–१९’ विरुद्ध मोर्चा कस्दैं गरेका स्वास्थ्यकर्मीका पक्षमा


केही दिनअघिसम्म हाम्रो देशमा एक केस पनि ‘कोभिड–१९’ को नभेटिएको अवस्था थियो । जसले थोरै भएपनि हामी सबै ढुक्क थियौं । तर, फ्रान्सबाट आएकी एक किशोरीमा भेटिएको ‘कोभिड–१९’ को पछिल्लो केसले उनी र उनका परिवारजनलाई मात्र त्रास र डर उत्पन्न गरेको छैन । यो खबरले सारा नेपाली अहिले डर र त्रासमा बाँचिरहेका छन् । सरकारले सजगता अपनाउँदै समयमै ‘लक डाउन’ को घोषणा गरेको छ ।

जब देश युद्धमा होमिरहेको हुन्छ, त्यस समय सेना र सिपाही नै मुख्य पात्र हुन्छन्, देशलाई जोगाउने र बचाउने । अहिलेको यो जैविक लडाइमा देशमा स्वास्थ्य संकट आइपरेको छ । यो समयमा संकटसँग जुध्ने मुख्य पात्र वा सैनिक हुन्, स्वास्थ्यकर्मी । जैविक युद्धको मोर्चामा डट्नका लागि पर्याप्त स्रोत अभावका कारण उनीहरु पनि सर्वसाधारणजस्तै डर र त्रासमा छन् । अझ बढी नै त्रासमा छन्, किनभने उनीहरु सिधै ‘कोभिड–१९’ संक्रमितको उपचारमा संलग्न हुन्छन् ।

तर, स्वास्थ्यकर्मी आफ्नो कर्तव्यबाट विमुख हुँदैनन् । देशको संकटपूर्ण अवस्थामा ज्यान दिन तयार छन् । म स्वयंम एक स्वास्थ्यकर्मी भएको नाताले बिना व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र गिरेको मनोबलले ‘कोभिड–१९’ संक्रमितको उपचारमा होम्मिनु वुद्धिमानी देख्दिन् । उपचार गर्ने स्वास्थ्यकर्मीलाई नै संक्रमण भएको खण्डमा हाम्रो समस्त स्वास्थ्य प्रणाली नै असफल हुनेछ । जसको एक उदारहण इटालीको कथा हाम्रो सामु छर्लङ छ । त्यसबाट हामीले पाठ सिक्ने कि नसिक्ने ? प्रणाली नै असफल हुँदा कस्तो अवस्था आइपर्छ भन्नेमा अहिल्यै सतर्क हुने कि नहुने ?

जनता सजग नहुँदा तथा सरकारको एक गलत कदमले इटालीका कयौं स्वास्थ्यकर्मी नै ‘कोभिड–१९’ को संक्रमणमा परेका छन् । जसको फलस्वरूप त्यहाँको अवस्था नियन्त्रण बाहिर पुग्यो । त्यस्तै, अवस्था नेपालले भोग्न नपरोस् भनी सरकारले समयमै ‘लक डाउन’ गरेको छ । र, त्यसको पालना गर्नु हामी सबै सचेत र जिम्मेवार नागरिकको कर्तव्य हो । स्वास्थ्यकर्मीलाई हुने सम्भाब्य संक्रमणबाट जोगाउन सरकारले छिटोभन्दा छिटो सम्पूर्ण सरकारी तथा निजी अस्पतालमा ‘पीपीई’ दिनै पर्दछ ।

त्यो ‘पीपीई’ले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनेछ । जुन उच्च मनोबल उपचार र त्यसको प्रभावकारितामा देखिनेछ । यसले हाम्रो स्वास्थ्य प्रणालीलाई पनि तन्दुरुस्त राख्नेछ । स्वास्थ्य प्रणाली नै स्वस्थ, तन्दुरुस्त र बलियो रहेमा हामी सम्भावित ‘कोभिड–१९’ को महामारीसँग जुध्न सक्षम हुनेछौं । स्वास्थ्य प्रणाली बलियो बनाउनका लागि त्यसका सिपाहीहरु स्वास्थ्यकमीहरुको सुरक्षामा उचित ध्यान दिनु अहिलेको हाम्रो प्रमुख कार्यभार बन्नुपर्दछ । अहिले सम्भावित महामारी विरुद्ध फ्रन्टलाइनमा रहेर ‘कोभिड–१९’ विरुद्ध लड्ने योद्धा स्वास्थ्यकर्मीलाई हामीले सुरक्षा प्रदान गर्न सक्नुपर्छ । यसो भएमा उनीहरुले जोखिममा पर्ने आम नागरिकलाई महामारीको सम्भावित चपेटबाट जोगाउन सक्षम हुनेछन् ।

स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सँगैं उनीहरुका अन्य व्यवहारिक सवालहरुलाई पनि सरकारले ध्यान दिनुपर्दछ । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन कम्तिमा १ करोडको स्वास्थ्य बिमा, निःशुल्क उपचार र मृत्यु भएको खण्डमा सहिद घोषणा गर्नु पर्दछ । यस्तो अवस्थामा मृत्यु प्राप्त गर्ने स्वास्थ्यकर्मीको मृत्यु शासन सत्ता परिवर्तन गर्दा मृत्यु हुने वीर वा देशका लागि युद्धमा मृत्यु प्राप्त गर्ने योद्धाको मृत्युभन्दा कम हुने छैन । यो पनि जैविक युद्ध हो, त्यसैले सहिद घोषणाको व्यवस्थाले स्वास्थ्यकर्मीको सम्मान र उनीहरुको बलिदानको उच्च मूल्यांकन भएको महसुस हुनेछ । यसले स्वास्थ्यकर्मीको मनोबलमा अलिकति भए पनि उच्च हुनेछ ।

अहिलेसम्म ‘पीपीई’ सबै अस्पतालमा नपुगेका कारण डाक्टर तथा नर्सहरु त्रसित छन् । एक केस पत्ता लाग्नाले अब धेरै केस देखिन सक्छन् भन्नेतर्फ हामीले सजगता अपनाउनुपर्ने बेला आएको छ । त्यसका लागि युद्धस्तरमा पूर्व तयारी जरुरी देखिएको छ । ‘पीपीई’ पुगेका ठाउँमा पनि पर्याप्त छैन्, त्यसलाई तत्काल कसरी आवश्यकताअनुसार पूर्ति गर्ने भन्नेमा राज्य गम्भीरतापूर्वक लाग्नुपर्दछ । ‘कोभिड–१९’ विरुद्धको लडाइका लागि हामी सबै स्वास्थ्यकर्मी मानसिक रुपमा तयार छौं । तर, अत्यावश्यक ‘पीपीई’ को चाँडोभन्दा चाँडो व्यवस्था गर्न सरकारसँग हाम्रो साझा माग छ । युद्धरत सिपाहीका लागि बन्दुक जति महत्वको हुन्छ, ‘कोभिड–१९’ विरुद्ध अग्रमोर्चामा रहेन हामी स्वास्थ्यकर्मीको दस्ताका लागि ‘पीपीई’ तत्कालका लागि त्यतिकै महत्वपूर्ण छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ