स्थापनाको तीन दशकभन्दा लामो गौरवमय इतिहास बोकेको पूर्वाञ्चल विश्वविद्यालय (पियु) अहिले एउटा ऐतिहासिक मोडमा आइपुगेको छ । त्रिभुवन विश्वविद्यालयपछि मुलुककै दोस्रो ठूलो र सर्वाधिक विद्यार्थीहरूको आबद्धता रहेको यो विश्वविद्यालय राष्ट्रिय शिक्षाको एउटा बलियो खम्बा हो भन्दा फरक नपर्ला ।
स्थापनाकालदेखि हालसम्म ध्रुवनारायणलाल दास, तोरणबहादुर कार्की, जगतबहादुर के.सी., रामअवतार यादव, महेश्वरमान श्रेष्ठ, शिरिष रिजाल, घनश्यामलाल दास, विजु कुमार थपलिया (पहिलो कार्यकाल), यादव कोइराला, शैलेशमणि पोख्रेल र हालैका पूर्वउपकुलपति प्रो. डा. विजुकुमार थपलिया (दोस्रो र तेस्रो कार्यकाल)जस्ता शिक्षा, प्रशासन, इन्जिनियरिङ र व्यवस्थापन पृष्ठभूमिका दिग्गज व्यक्तित्वहरूले यस संस्थालाई कुशल नेतृत्व प्रदान गर्नुभयो । उहाँहरूकै योगदानको जगमा उभिएर विश्वविद्यालयले भर्खरै आफ्नो ते¥हौँ उपकुलपतिका रूपमा जनस्वास्थ्य, स्वास्थ्य विज्ञान तथा चिकित्सा शिक्षा क्षेत्रका विज्ञ प्रा. डा. सुजनबाबु मरहठ्ठालाई पाएको छ ।
हुनत विश्वविद्यालयको इतिहासमा नेत्र रोग विशेषज्ञ डा. शैलेशमणि पोखरेल उपकुलपति भएको देखिन्छ । तर, त्यो विशेष परिस्थितिमा रहेको बुझिएको छ । खुल्ला रुपमा प्रतिस्पर्धा गरेर स्वास्थ्य क्षेत्रका प्राज्ञिक व्यक्तित्व नेतृत्वमा आउनु यो पहिलो अवसर हो । यो केवल एउटा सुखद संयोग मात्र होइन, बल्कि यो विश्वविद्यालयको बदलिँदो आयाम र समयको माग पनि हो ।
स्वास्थ्य विज्ञानको पुरानो विरासत, चिकित्सा शिक्षाको नयाँ आयाम
यहाँनिर एउटा तथ्य के स्पष्ट हुन जरुरी छ भने पूर्वाञ्चल विश्वविद्यालयका लागि स्वास्थ्य विधा नौलो विषय भने पक्कै होइन । विश्वविद्यालयले विगत लामो समयदेखि जनस्वास्थ्य, नर्सिङ, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजीजस्ता विधामा दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको स्वास्थ्य सेवाका क्षेत्रमा पियुका उत्पादनले बलियो साख स्थापित गरिसकेको छ । स्वास्थ्य शिक्षाको यो प्रयोगात्मक जग पियुमा निकै अगाडिदेखि सुदृढ थियो ।
तर, चिकित्सा शिक्षाको स्नातक (एमबीबीएस) कार्यक्रमको अभाव थियो । यो अभावलाई चिर्दै पियुको आफ्नै साखमा गत वर्षदेखि एमबीबीएस कार्यक्रम सफलतापूर्वक सञ्चालनमा ल्याएको छ । यो विश्वविद्यालयको इतिहासकै सबैभन्दा ठूलो ‘माइलस्टोन’ हो । हाल पहिलो वर्षका विद्यार्थीहरू अध्ययनरत रहेको यो कार्यक्रमलाई यो रूपमा देख्न पाउनु पछाडि पूर्व नेतृत्वको ऐतिहासिक मिहिनेत छ ।
विशेषगरी, यस कार्यक्रमको स्थापना र सुरुवातका लागि तत्कालीन उपकुलपति प्रा. डा. विजुकुमार थपलिया र मेडिकल संकायका डिन डा. शैलेशमणि पोखरेलको दूरदर्शिता, अहोरात्रको खटाइ र लगनशीलतालाई इतिहासले कहिल्यै बिर्सन सक्दैन् । उहाँहरूले प्रशासनिक र कानुनी अड्चनहरूलाई चिर्दै रोपेको यो कल्कलाउँदो विरुवा अहिले बामे सर्न लागेको प्रारम्भिक अवस्थामा छ ।
चिकित्सा शिक्षा आयोग (एमईसी) र नेपाल मेडिकल काउन्सिलका कडा मापदण्डहरू पूरा गर्दै यो विरुवालाई विशाल वृक्ष बनाउने र एउटा गुणस्तरीय शिक्षण अस्पताल र मेडिकल कलेजको जग बसाल्नु यतिबेला विश्वविद्यालयको सबैभन्दा ठूलो र संवेदनशील कार्यभार बनेको छ ।
नेतृत्वको सान्दर्भिकता र अवसरको ढोका
पूर्व नेतृत्वले जग बसालेको यस्तो विशिष्ट परिस्थितिमा चिकित्सा शिक्षाकै मर्म, प्राविधिक जटिलता र विश्वव्यापी अभ्यास बुझेको नयाँ नेतृत्व पाउनु सिङ्गो विश्वविद्यालय र विशेष गरी नवजात अवस्थामा रहेको एमबीबीएस कार्यक्रमका लागि एउटा बलियो ऊर्जा हो । चिकित्सा शिक्षा अन्य विधाजस्तो सैद्धान्तिक मात्र हुँदैन । यसमा क्लिनिकल एक्सपोजर, प्रयोगात्मक ल्याब, फ्याकल्टी रिटेन्सन र ‘बेड–टु–स्टुडेन्ट रेसियो’जस्ता प्राविधिक कुराहरूमा शून्य सम्झौताको नीति हुन्छ । स्वास्थ्य क्षेत्रकै नेतृत्व हुँदा यी प्राविधिक आवश्यकता र फाइलहरू प्रशासनिक टेबुलमा अड्किने वा बुझाउनै समय लाग्ने अवस्थाको अन्त्य हुन्छ ।
नयाँ नेतृत्वको आगमनसँगै पूर्वाञ्चल विश्वविद्यालयको ‘स्कुल अफ मेडिसिन’ले देशकै विशिष्ट पहिचान बनाउने अभूतपूर्व अवसर पाएको छ । पहिलेदेखि नै सञ्चालित जनस्वास्थ्य, नर्सिङ र फार्मेसीजस्ता समृद्ध विधाहरूलाई नव–प्रवर्तित एमबीबीएस कार्यक्रमसँग अन्तरसम्बन्धित (Inter–disciplinary approach_) गराएर पियुले ‘समुदायमा आधारित चिकित्सा शिक्षा र अनुसन्धान’ (Community–based Medical Research) मा देशकै नेतृत्व लिन सक्छ । नीतिगत तहमा चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयसँग प्राज्ञिक पैरवी (एडभोकेसी) गर्न र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य बढाउन स्वास्थ्य क्षेत्रकै विज्ञ उपकुलपतिको उपस्थिति कोसेढुङ्गा सावित हुन सक्छ ।
विशेषगरी, नववियुक्त उपकुलपति प्रा. डा. मरहठ्ठा स्वयं चिकित्सा शिक्षा आयोगको पूर्वनिर्देशक भई कार्य गरिसकेको व्यक्तित्व हुनुहुन्छ । आयोगका नीति, नियम, मापदण्ड र कार्यप्रणालीबारे उहाँको प्रत्यक्ष र गहन अनुभव छ । उहाँको यो विशिष्ट प्रशासनिक अनुभव र विज्ञता नवजात अवस्थामा रहेको पियुको ‘स्कुल अफ मेडिसिन’ (PUSM) लाई चिकित्सा शिक्षा आयोगको मापदण्डअनुरूप सबल, सुदृढ र नियमसम्मत रूपमा अघि बढाउन पक्कै सहयोगी हुनेछ । अर्थात खेलकुदको भाषामा ‘होम ग्राउन्ड एड्भान्टेज’ जस्तै एउटा ठूलो रणनीतिक फाइदा सावित हुने निश्चित छ ।
चुनौतीको पहाड र साझा जिम्मेवारी
यो अवसरको बाटो सहज भने निश्चितै छैन । नयाँ नेतृत्वका सामु एकातिर सिङ्गो विश्वविद्यालयका अन्य गैर–मेडिकल संकायहरूलाई समान न्याय र सन्तुलन दिँदै हाक्नुपर्ने दायित्व छ । अर्कोतिर भर्खरै सुरु भएको मेडिकल स्कुललाई साधन–स्रोत सम्पन्न बनाउने ठूलो चुनौती छ ।
पहिलो ब्याचका विद्यार्थीहरूको गुणस्तरीय क्लिनिकल सिकाइ सुनिश्चित गर्नु, आफ्नै शिक्षण अस्पतालको सुदृढीकरण गर्नु, अत्याधुनिक प्रविधिको जडान र दक्ष प्राध्यापक तथा चिकित्सकहरूलाई टिकाइराख्ने प्राज्ञिक वातावरण निर्माण गर्नु तत्कालका प्राथमिक कामहरू हुन् । यसका साथै पियु कुनै निजी मेडिकल कलेज होइन् । निजी मेडिकल कलेजले बजारको प्रतिस्पर्धा र मागअनुसार प्राध्यापक (फ्याकल्टीहरुलाई तुरुन्तै आकर्षक आर्थिक प्याकेज वा विशेष सेवा प्रस्ताव गर्न सक्छन् । तर, विश्वविद्यालयको आफ्नै प्राशासनिक नियम, कानुनी सीमा र अप्ठ्याराहरु हुन्छन् । यस अवस्थामा निजी क्षेत्रले दिने सेवा–सुविधासँग प्रतिस्पर्धा गर्दै दक्ष प्राध्यापकहरुलाई आकर्षित गर्नु, टिकाइ राख्ने वातावरणको सिर्जना गर्नु जटिल चुनौती छ । परम्परागत प्रशासनिक झन्झट र सीमित बजेटका बीच यी कामहरूलाई द्रुत गतिमा अघि बढाउनु नयाँ उपकुलपतिका लागि अग्निपरीक्षा जस्तै हुनेछ ।
उपकुलपति प्रा. डा.सुजनबाबु मरहठ्ठाको नियुक्तिले पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को आधिकारिक र परिपक्व सुरुवात गरेको छ । पूर्वउपकुलपति प्रा. डा. विजु कुमार थपलिया र डिन डा. शैलेशमणि पोखरेललगायतको टिमले खनेको बलियो गोरेटोलाई राजमार्गमा बदल्ने गुरुत्तर जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा छ । नेतृत्वले नीति र बाटो देखाउने हो तर त्यो बाटोमा हिँडेर संस्थालाई गन्तव्यमा पु¥याउने जिम्मेवारी विश्वविद्यालय परिवार, संकायका प्राध्यापक, चिकित्सक र सरोकारवाला सबैको हो । स्कुल अफ मेडिसिनको एउटा सदस्यको हैसियतले भन्नुपर्दा यो नेतृत्व परिवर्तन मात्र होइन, पूर्वाञ्चल विश्वविद्यालयलाई देशकै भरोसायोग्य र अनुसन्धानमुखी बनाउने ऐतिहासिक अवसर हो । यस अवसरलाई संस्थागत हितमा बदल्नु हामी सबैको साझा दायित्व हो ।
(डा. साह पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ मेडिसिनका उपप्राध्यापक हुन् ।)