२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कोभिड–१९ बाट मृत्यु भएका १३२ परिवारलाई १-१ लाख राहत

कर्णालीमा कोभिड–१९ बाट मृत्यु भएका १३२ परिवारलाई १-१ लाख राहत


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका १ सय ३२ परिवारलाई राहत बाँडेको छ । कोभिड–१९ बाट मृत्यु भएका १ सय ३२ परिवारलाई राहत स्वरुप प्रति परिवार एक लाखका दरले रकम वितरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशकाअनुसार पहिलो चरणमा १ सय ३२ जना मृतक परिवारलाई राहत रकम प्रदान गरिएको छ । कर्णालीमा हालसम्म कोभिड–१९ बाट ३ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

यसअघि कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ बाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । जसअन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरी १ सय ३२ जनालाई राहत उपलब्ध गराइएको छ ।

अन्य जिल्लाका मृतकलाई पनि केही दिनमा राहत रकम वितरण गर्ने सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् । यसका लागि तथ्यांक संकलनको क्रममा जारी रहेकाले छिट्टै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताइन् ।

उनका अनुसार हालसम्म ३ सय ४५ जनाका परिवारले क्षतिपूर्तिको मागसहित प्रदेश सरकार समक्ष निवेदन पेश गरेका छन् । पिसिआर परिक्षणबाट कोभिड–१९ पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, रकम दावीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ