२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश६ महिनादेखि जाजरकोट सदरमुकाममै थन्किए बर्थिङ सेन्टरका सामग्री

६ महिनादेखि जाजरकोट सदरमुकाममै थन्किए बर्थिङ सेन्टरका सामग्री


 जुम्ला – जाजरकोटका सातवटै स्थानीय तहलाई उपलब्ध गराउने भन्दै आर्थिक वर्ष ०७७/७८ मा खरिद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री अहिलेसम्म सदरमुकाममै थन्किएका छन् ।

स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्रीहरू गत असारमै सबै स्वास्थ्य संस्थामा पु¥याइसक्नु पर्ने थियो । तर, अहिलेसम्म खलंगास्थित निजी घरमा थन्किएको पाइएको छ । चैत महिनामै सदरमुकाम आइपुगेका सामग्रीहरू झन्डै ६ महिनादेखि सदरमुकाममा थन्क्याएर राखिएको छ ।

स्थानीय तहले बर्थिङ सेन्टरमा भएको आवश्यक समस्याबारे लिखित माग गरेअनुसार अघिल्लो वर्ष ती सामग्री खरिद गरिएका थिए । खरिद गरिएका सामग्रीहरूको अभाव भएपछि पटकपटक माग गरे पनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले जनाएका छन् ।

माग गरिएका सामग्रीहरू स्वास्थ्य सेवा कार्यालयले खरिद गरे पनि सदरमुकामै थन्क्याएर राख्दा समस्य थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । भेरी नगरपालिकाले समेत पटकपटक बर्थिङ सेन्टरका सामग्री माग गरे पनि नगरपालिकाको नाममा आएका सामग्री स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको छैन ।

बन्द कोठामा राखिएका ती सामग्री पालिकामा कहिले पुग्छ भन्ने अझै यकिन हुन सकेको छैन । सात पालिकामध्ये नलगाड नगरपालिकामा मात्र अहिलेसम्म सामग्री पठाइएको छ । प्रदेश सरकारको दायित्वअन्तर्गत ती सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा मागका आधारमा खरिद गरिएका सामग्री सदरमुकाममा थन्क्याएर राख्दा उता पालिकामा सामग्रीको अभावमा सुत्केरी गराउन समस्या भइरहेको पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । एउटा बर्थिङ सेन्टरमा झन्डै ८० प्रकारका सामग्री आवश्यक पर्छ ।

कार्यालय प्रमुखले सक्रियता नदेखाउँदा अत्यावश्यक सामग्रीहरू गोदाममा थन्किएका छन् । यस विषयमा स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ