२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतातोपानीमा पाठेघर सम्बन्धी शिविरमा ६७ जनाको स्वास्थ्य परीक्षण

तातोपानीमा पाठेघर सम्बन्धी शिविरमा ६७ जनाको स्वास्थ्य परीक्षण


जुम्ला—तातोपानी गाउँपालिका जुम्लाको तातोपानी स्वास्थ्य चौकीमा एक दिने पाठेघर सम्बन्धी शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सहकार्यमा सर्वाेदय नेपाल जुम्लाले शिविर सञ्चालन गरेको हो ।

ग्रामीण गाउँबस्तीका महिलाका पाठेघर सम्बन्धी संक्रमण पहिचान गर्ने र औषधी उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको सर्वाेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए ।

शिविरमा ६७ जना महिलाको पाठेघर चेकजाँच गर्दा ४ जनामा संक्रमण देखिएको प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. संगीता न्यौपानेले जानकारी दिइन् । ‘संक्रमण भएका महिलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको छ,’ उनले भनिन् ।

शिविरमा प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. न्यौपानेको नेतृत्वमा स्टाफ नर्स लक्ष्मी खत्री, विमला तिमिल्सिनालगायत तातोपानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि परिचालन भएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए ।

‘कलिलै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने, कम उमेरमा बच्चा जन्माउनु तथा गर्भान्तर नगरी वर्षेनी बच्चा जन्माउनु, बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नु, सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुनु वा गह्रौं कामहरु गर्नु, गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनुजस्ता कारणले पाठेघर सम्बन्धी समस्या हुने र पाठेघर खस्ने गर्दछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ