२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी, कर्णाली प्रतिष्ठानमा उपचार हुँदैं

मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी, कर्णाली प्रतिष्ठानमा उपचार हुँदैं


जुम्ला—जुम्लाको गुठीचौर गाउँपालिका—४ थामवाडामा मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेका छन् । जंगलमा विष हुने घाँस खाएको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन् ।

बिरामी ६ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको छ । तीन जना पुरुष र तीन जना महिला बिरामी परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले बताए ।

उनका अनुसार बिरामी हुनेमा ४० वर्षका विष्णबहादुर अधिकारी, उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु सुष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् ।

उनीहरु सबैले बुधबार बिहान ९ बजेतिर मरेको भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले बताए । ‘ुभर्खर जंगलमा पलाउन लागेको विष खाएर मरेको भेडाको मासु खाँदा यस्तो भएको हो,’ उनले भने, ‘पहिला पनि यसरी मरेका भेडाको मासु त खान्थ्यौं । हामीलाई केही हुँदैनथ्यो । त्यसैले उनीहरुले पनि खाए तर बिरामी भए ।’

बिरामी ६ जनाको अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न डा. रमाकान्त रायले बताए । ‘मासु भर्खरै खानु भएको रहेछ । असर एकदमै चाँडै देखिएको छ,’ उनले भने, ‘अहिले अवस्था सामान्य छ । तर, दुई तीन दिन नहेरी केही भन्न सकिन्न ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ