२०८१ मंसीर २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबिरामीलाई ठगी गर्ने लाइफगार्डको स्वास्थ्य बीमा कार्यक्रम रद्ध गर्ने तयारीमा बोर्ड

बिरामीलाई ठगी गर्ने लाइफगार्डको स्वास्थ्य बीमा कार्यक्रम रद्ध गर्ने तयारीमा बोर्ड

छानविन गर्न चार सदस्सीय टोली, एक हप्ताभित्रमा प्रतिवेदन बोर्डमा बुझाउने समयसीमा


विराटनगर— विराटनगर–५ बरगाछीस्थित लाइफगार्ड अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम रद्ध गर्ने तयारी स्वास्थ्य बीमा बोर्डले गरेको छ । अस्पतालका संचालकसमेत रहेका यूरोलोजिष्ट डा. इकबाल अहमदलले बिरामीसँग दोहोरो रकम लिएर ठगी गर्ने गरेको समाचार हेल्थआवाजमा प्रकाशित भएपछि बोर्डले ‘स्वास्थ्य बीमा कार्यक्रम’ बन्द गर्ने तयारी गरेको हो ।

त्यसका लागि बोर्डले गठन गरेको चार सदस्यीय छानविन टोली विराटनगर आएको छ ।अप्रेसनको नाममा बिरामीसँग दोहोरो रकम लिएर अस्पतालका चिकित्सक डा. इकबालले ठगी गरेको पाइएपछि स्वास्थ्य बीमा बोर्डले अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने अन्तिम तयारीमा पुगेको हो ।

स्वास्थ्य बीमाबाट शल्यक्रियाको भुक्तानी लिएपछि पनि चिकित्सक डा. अहमदले बिरामीसँग शल्यक्रिया थियटरभित्र सहयोगी राखेर मनलाग्दी रुपमा रकम असुली गरेर ठगी गरेको समाचार हेल्थआवाजले प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित गरेपछि स्वास्थ्य बीमा बोर्डले चार सदस्यीय छानविन समिति गठन गरेको छ । बोर्डले गठन गरेको छानबिन समिति मंगलबार विराटनगर आइपुगेको हो ।

समितिले छानबिन सकेर प्रतिवेदन बुझाएलगतै लाइफगार्ड अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम रद्ध गर्ने प्रक्रिया अगाडि बढाउने स्वास्थ्य बीमा वोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए । ‘ठगी भएको समाचार र गुनासोसहितको उजुरी परेपछि हामीले छानबिन समिति गठन गरेर विराटनगर पठाएका छौं । अहिले समितिले अस्पतालमा गएर छानविन गर्दै आएको छ । यसअघि पनि लाइफगार्डको स्वास्थ्य बीमा कार्यक्रम नाममा गुनासो आएको थियो । बारम्बार अस्पतालको बारेमा गुनासो र अहिले हामीले केही प्रमाणसमेत भेटिएकाले लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने तयारीमा पुगेका छौं,’ उनले भने, ‘गठन भएको छानविन समितिले दिएको प्रतिवेदनको आधरमा थप कारवाहीको प्रक्रिया अगाडि बढनेछ ।’

अहिले गठन भएको छानविन समितिले एक हप्ता भित्रमा प्रतिवेदन बुझाउने स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पन्डितले बताए । ‘अहिले छानविन समिति आएर अनुसन्धान गर्दैछ । छानविनको प्रक्रियामा रहेकाले अहिले मैले केही बोल्न मिल्दैन । प्रतिवेदन बुझाएपछि थप विषय जानकारी गराउनेछौं,’ उनले भने, ‘छानविनको क्रममा कतिपय सूचना गोप्य राख्नुपर्ने पनि हुन्छ । तेसैले मैले यो भन्दा बढी केही बोलिन ।’

लाइफगार्डमा तीन वर्ष अगाडिदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । अस्पताललमा दैनिक १ सय जनाले स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिने गरेका छन् । एक सय जनाले स्वास्थ्य बीमा मार्फत उपचार गर्दा २ देखि पाँच जनाको दैनिक शल्यक्रिया हुने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु भएपछि स्वास्थ्य बीमाबाट शल्यक्रियाको भुक्तानी लिएपछि पनि चिकित्सक डा. अहमदले बिरामीसँग शल्यक्रिया थियटरभित्र सहयोगी राखेर १५ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको बिरामीले गुनासो गरेका थिए ।

विरामीलाई शल्यक्रिया थियटरमा पसाएपछि बिरामीका आफन्तलाई चिकित्सक डा. इकबालको टिमले कुनै पनि शल्यक्रियाको नाममा ४० हजारबाट डिल गर्न सुरू गरेर बिरामीको आर्थिक अवस्था हेर्दै १५ हजारसम्म लिएको बिरामी भेटिएका छन् ।

डा. इकबालले पथरीशनिश्चरे—२ क ि२९ वर्षीया निहा साम्बाको किड्नीमा रहेको पथरीको शल्यक्रिया गर्दा ठगी गरेका थिए । बिरामी साम्बाको शल्यक्रिया गरेबापत स्वास्थ्य बीमामार्फत २८ हजार २८४ रुपैयाँ बिमाले भुक्तानी हस्पिटलले लिएको छ । स्वास्थ्य बीमाबाट २८ हजार बढी लिएपछि पनि डा. इकबालले निहाका श्रीमान सचितसँग १५ हजार रुपैयाँ लिएका थिए ।

त्यसैगरी, पथरीशनिश्चरे—२ का ४० वर्षीया धनेश्वरी लिम्बूको पनि किड्नीमा पथरीको शल्यक्रिया गर्दा स्वास्थ्य बीमामार्फत भुक्तानी लिएपछि पनि उनीसँग थप ३० हजार रुपैयाँ लिएको बताएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ