२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअवैध रुपमा कोरोना परीक्षण शुल्क असुल्दै निजी अस्पताल, रमिते स्वास्थ्य मन्त्रालय

अवैध रुपमा कोरोना परीक्षण शुल्क असुल्दै निजी अस्पताल, रमिते स्वास्थ्य मन्त्रालय


काठमाडौं–काठमाडौंका नाम चलेका ठूला अस्पतालले कोभिड–१९ परीक्षण गर्ने नाममा सर्वसाधारणबाट अवैध रुपमा पैसा असुल्ने गरेको पाइएको छ । सरकारको बनाएको नियम विपरित स्वाब कलेक्सन गरी सरकारी प्रयोगशालामा पठाएबापत उनीहरुले यस्तो पैसा लिने गरेको पाइएको हो ।

हेल्थ आवाज डटकमले सेवाग्राही भएर ‘वैदेशिक रोजगारीमा जान लागेकाले पिसिआर परीक्षण गर्नुपर्ने भन्दैं’ उपत्यकाका दर्जनभन्दा बढी अस्पतालमा खोज गर्दा उपत्यकाका ठूला भनिएका तीन अस्पतालले अवैधानिक रुपमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर शुल्क लिने गरेको तथ्य फेला परेको छ । पिसिआर परीक्षण गरेर रिपोर्ट दिइन्छ भनेर जानकारी गराउनेमा धुम्बाराहीस्थित ह्याम्स अस्पताल, जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज र धापासीस्थित ग्राण्डी अस्पताल छन् ।

हेल्थ आवाजले टेलिफोन सम्पर्क गर्दा ग्राण्डी अस्पतालका कर्मचारीले पिसिआर परीक्षण हुने भन्दैं ७ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने र रिपोर्ट ७२ घन्टामा आउने जानकारी दिएका छन् । ‘कोभिड–१९ को पिसिआर जाँच गर्न ७ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ,’ ती कर्मचारीले भने, ‘स्वाब संकलन गरेको ७२ घण्टामा अस्पतालमै आएर रिपोर्ट लिनुपर्छ ।’

जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज अस्पतालमा फोन गर्दा ७ हजार रुपैयाँको हाराहारीमा शुल्क लाग्ने गरेको टेलिफोनमा सम्पर्कमा आएका त्यहाँका कर्मचारीले बताए । ‘त्रिवि शिक्षण अस्पताललाई ५ हजार ५ सय र भिटिएम चार्ज १ हजार ६ सय रुपैयाँसहित ७ हजार हाराहारीमा शुल्क लाग्छ,’ टेलिफोन वार्ताका क्रममा नेपाल मेडिकल कलेजका कर्मचारीले भने ।

त्यस्तै, धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोभिड–१९ को पिसिआर परीक्षणका लागि ५ हजार ७ सय ७५ रुपैयाँ शुल्क लिने गरेको पाइएको छ । टेलिफोन कुराकानीमा अस्पतालकी एक महिला कर्मचारीले स्वाब संकलन गरेर रिपोर्ट ४ दिनभन्दा बढी समय लाग्ने बताइन् । उनले रिपोर्ट नमुना आफूहरुले संकलन गरेर टिचिङ अस्पताल पठाउने गरेको बताइन् ।

सरकारले अहिले ४ वटा निजी प्रयोगशालाबाहेक अन्यलाई कोरोनाको पिसिआर परीक्षणका लागि अनुमति दिएको छैन । परीक्षण अनुमति दिएका ती प्रयोगशालालाई पनि सर्वसाधारणसँग शुल्क लिन पाउँदैनन् । परीक्षण गर्न दिएका निजी प्रयोगशालाहरुलाई पनि स्वेच्छिक रुपमा स्वाब संकलन गर्ने अनुमति छैन । उनीहरुलाई संकलित स्वाब पनि सरकारी प्रयोगशालाबाट उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

हेल्थ आवाजले सेवाग्राही बनेर सम्पर्क गर्दा पिसिआर परिक्षण गरिन्छ भन्ने तीनवटै अस्पताललाई कोभिड—१९ पिसिआर परीक्षण अनुमति दिइएको छैन । सरकारले उपत्यकामा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महावौद्ध र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई मात्र स्वेच्छिक पिसिआर परीक्षण गर्नेहरुलाई ५ हजार ५ सय रुपैयाँ लिएर परीक्षण गर्न अनुमति दिएको छ ।

सरकारले बनाएको निजी प्रयोगशालालाई कोभिड–१९ को मोेलिक्युलर परीक्षण (पिसिआर) परीक्षण गर्न अनुमति दिने सम्बन्धि निर्देशिका—२०७७ मा निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएका नमुनालाई मात्र परीक्षण गर्नुपर्ने उल्लेख छ । यसबापत नेपाल सरकारले प्रति नमुना ५ हजार ५ सय रुपैयाँ सोधभर्ना गर्ने उल्लेख छ ।

अस्पतालमा आएका बिरामीहरुको अप्रेशन गर्नुपर्ने अथवा कोभिड—१९ संक्रमणको आशंका लागेमा स्वाब कलेक्सन गरेर सरकारले तोकेका अस्पतालमा पठाउन पाउने तर त्यसबापतको शुल्क लिन नपाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए । ‘सरकारले काठमाडौं उपत्यकामा पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा मात्र स्वेच्छिक जाँच गर्नका लागि पैसा लिएर गर्न पाउने व्यवस्था गरेको छ,’ उनले भने, ‘यदि निजी अस्पतालमा शल्यक्रिया गर्नुपर्ने अथवा कोभिड—१९ आशंकित बिरामी भएमा उनीहरुको स्वाब संकलन गरेर यिनै अस्पतालमा पठाउनुपर्छ तर पैसा लिन पाइँदैन ।’

नियम विपरित कुनैपनि अस्पतालले पिसिआर परीक्षणका नाममा सर्वसाधारणबाट अवैध रकम असुलेमा सरकारले कारवाही गर्ने उनले बताए । सचिव अर्यालले विदेश जाने तयारीमा रहेकाहरुको स्वाब संकलन गर्न पनि नपाउने स्पष्ट पारे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कुृनैपनि निजी अस्पतालहरुलाई कोभिड–१९ को पिसिआर परीक्षण तथा स्वाब संकलनका लागि अनुमति नदिइएको बताए । उनले अस्पतालमा आएका बिरामीहरुको अप्रेशन गर्नुपर्ने अवस्थामा वा कोभिड—१९ शंकास्पद बिरामी भए तोकिएका कोभिड—१९ अस्पतालसँग समन्वय गरी स्वाब संकलन गर्नुपर्ने र सो स्वाब नेपाल सरकारले तोकेका सरकारी प्रयोगशालामा परीक्षण गराउनुपर्ने बताए ।

काठमाडौंमा तोकिएका मापदण्डबाहिर परेका स्वेच्छिक पैसा तिरेर जाँच गर्नेहरुका लागि तीन अस्पताललाई तोकिएको छ । सरकारले निजीतर्फ स्टार अस्पताल, काठमाडौं मेडिकल कलेज, सिडिएल डाइग्नोस्टिक सेन्टर र कोरिया नेपाल मैत्री अस्पताललाई स्वाब परीक्षण अनुमति दिएको छ । तर, यी अस्पतालले पनि स्वाब संकलन गर्न पाउँदैनन् । साथै, परीक्षण गरेबापत सेवाग्राहीबाट शुल्क लिन पाउँदैनन् । यी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएका स्वाब परीक्षण गरेबापत प्रति स्वाब ५ हजार ५ सयका दरमा शोधभर्ना दिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ