२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशजहाँ कोरोना संक्रमितले गर्छन् नृत्यसहित योगाभ्यास

जहाँ कोरोना संक्रमितले गर्छन् नृत्यसहित योगाभ्यास


बुटवल—विहानको झिसमिसे मै बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा डेक बज्न सुरु हुन्छ । मस्त निदाएकाहरु ज¥याकजुरुक उठ्छन् र नाचगानमा सरिक हुन्छन् । ठूलो—ठूलो गीतसहितको धुनले वातावरण नै उल्लासमय बन्छ ।

यो दृष्य कुनै विहे पार्टीको होइन्, नत कुनै उत्सवको नै । यो त कोरोना आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितहरुको मनोबल उच्च बनाउन हरेक दिन विहान आयोजना हुने नृत्यसहितको योग अभ्यासको दृष्य हो ।

योगाचार्य विष्णुहरि आचार्यले जब ठूलो डेक लगाएर गीतसहित संक्रमितहरुलाई नाच्न उत्साहित गर्छन्, तब सबैले कोरोना संक्रमित रहेको बिर्सिएर नाचमा रमाउन थाल्छन् । ‘केही छिन त यस्तो लाग्छ कि संक्रमण छ र ? यसरी हामी उत्साहित हुन्छौं पसिना बगाउँछौ, रमाउँछौ । यसले उर्जा प्रदान गरेको छ,’–एक संक्रमितले हेल्थआवाजसँग अनुभव बाँडे ।

‘कोभिड—१९ को कुनै औषधी छैन् । आत्मबल वृद्धि गर्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउन सके संक्रमण जितिन्छ । त्यो आयुर्वेद र योग अभ्यासबाट सम्भव छ’, योग अभियन्ता आचार्य भन्छन्, ‘यसले सकारात्मक नतिजा दिइरहेको छ । हामी उत्साहित पनि भएका छौं ।’
आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनहरुमा बस्नेहरुलाई विहानै योग गर्नुपर्छ भन्ने शिक्षाले उनीहरुको दैनिकीमा सकरात्मक प्रभाव पारेको र शरीर स्वस्थ्य राख्न मद्दत मिलेको उनको भनाइ छ ।

योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योग आसन तथा ध्यान विधिबारे सिकाइने गरिन्छ ।

आवश्यक सामाग्रीहरु संकलित

सेन्टरका लागि आवश्यक सामाग्रीसमेत संकलन भैरहेको छ । केन्द्रमा रहेका कोरोना संक्रमितहरुलाई आवश्यक समाग्री विभिन्न ब्यक्तित्वहरु तथा सामाजिक संस्थाहरुले सहयोग गरिरहेका छन् ।

कोरोना संक्रमित राखिएको बुटवलको एन्फा आइसोलेसन केन्द्रमा कोरोना संक्रमित भएर केन्द्रमा पुगेका नेकपाका स्थानीय नेता दीपक पन्थीले पनि सामान जुटाउन समन्वय गरिरहेका छन् । आइसोलेसनमा बसेका संक्रमितहरुका लागि चाहिने मास्क, सेनिटाइजर, आयुर्वेदिक औषधी, खाद्य सामाग्रीलगायतका संकलन भैरहेको आचार्यले बताए ।

आइसोलेसनमा बुटवलका रमेशकुमार जोशीले पानी तताउने केतली तथा मास्क प्रदान गरेका छन् भने बुटवलकै नरेश केसीले १७ हजार बराबरका खाद्य सामाग्री प्रदान गरेका छन् ।

आचार्यकाअनुसार आइसोलेसनमा रहेका महिलाहरुका लागि रोटरी क्लब अफ डाउन टाउनले आवश्यक सामाग्री प्रदान गरेको छ । त्यस्तै, लायन्स क्लब देउरालीले ३० थान योग म्याट प्रदान गरेको छ । लायन्स चौतारीले प्लाष्टिक बाल्टीसहितका सामाग्री उपलब्ध गराएको छ । लायन्स स्टार र लायन्स संसारले १६ थान कुर्ची, १६ डसविन उपलब्ध गराएको छ । लायन्स बेलवास सिर्जनशीलले ४० डिब्बा च्यावनप्रास, रुरु मिलन केन्द्र नेपालले ४० डिब्बाका अश्वगन्धा प्रदान गरेको छन् ।

यस्तै, क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुलाई विभिन्न आयुर्वेदिक औषधीजन्य सामाग्री प्रदान गर्ने गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन निर्देशिकाअनुसार अश्वगन्धा पाउडर, मुलेठी पाउडर, गुडुची चिया, त्रिकटु चूर्ण तथा च्यावनप्रासलगायतका औषधी क्वारेन्टाइन तथा आइसोलेसनहरुमा वितरण हुने गरेको आचार्यले बताए ।

आयुर्वेद औषधी उत्पादक कम्पनी सिद्ध फमुलेशन प्रालिबाट झण्डै एक लाख बराबरको आयुर्वेद्धिक औषधी, गोरखा आयुर्वेद प्रालि, जनता आयुर्वेद भवन तथा केयर हर्बल प्रालि, पशुपति अन्नपूर्ण आश्रम प्रदेश ५, जी २५ क्लव बुटवललगायतबाट झण्डै २ लाखका औषधी प्राप्त भएको र ती वितरण गरिएको योग प्रशिक्षक आचार्यले बताए ।

वितरण गरिएका च्यावनप्रास, जडिबुटी, चियालगायतले मानिसमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विश्वास गरिन्छ ।

स्थानीय तहको सहयोग

सेन्टरमा हुने योगसहितका कार्यक्रमलाई स्थानीय तहहरुको पनि सहयोग गरिरहेका छन् । आइसोलेसनमा स्थानीय जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेलेको आचार्यले बताए । आइसोलेसनलाई सकेसम्म व्यवस्थित बनाउने प्रयास भैरहेको बुटवल उपमहानगरपालिका—११ का अध्यक्ष तथा एन्फा आइसोलेसन ब्यवस्थापन समिति अध्यक्ष रामकुमार क्षेत्रीले बताए ।

आइसोलेसन केन्द्रमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, वडाअध्यक्ष रामचन्द्र क्षेत्री, उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहलगायतका ब्यक्तित्वहरु समय—समयमा पुग्ने गरेको आचार्यले बताए । उनीहरुले आइसोलेसनका लागि आवश्यक व्यवस्थापन समेत मिलाउने गरेका छन् ।

हाल आइसोलेसनमा ४१ जना संक्रमित छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ