२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा प्लाज्मा बैंक स्थापना

बुटवलमा प्लाज्मा बैंक स्थापना


बुटवल—बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको छ । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार प्रभावकारी बन्दै गएपछि प्लाज्मा अभाव नहोस भनेर बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको हो ।

कोरोना संक्रमणबाट मुक्त भएका व्यक्तिहरुबाट रगत निकालेर प्लाज्मा छुट्टाएर बिरामीलाई चढाउदा सकारात्मक नतिजा आएको भन्दै बैंक संचालनमा ल्याइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रदेश ५ का संयोजक डा.प्रशान्त आचार्यले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा रक्त सञ्चार केन्द्र बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको छ ।

के हो प्लाज्मा थेरापी ?

कोभिड—१९ का कारण अवस्था गम्भीर हुँदै गएमा कोरोना संक्रमणमुक्त व्यक्तिबाट रगत निकालेर प्लाज्मा तयार गरी कोभिड—१९ बिरामीलाई चढाउने विधी प्लाज्मा थेरापी हो ।

संक्रमण जितेको मान्छेबाट प्लाज्मा जटिल अवस्थामा रहेको कोरोना संक्रमितलाई दिँदा संक्रमण निस्तेज पार्न सघाउ पुग्ने चिकित्सकहरु बताउँछन् । औषधी नभएको संक्रमणजन्य रोगका लागि प्लाज्मा थेरापी विधि महत्वपूर्ण मानिन्छ ।

प्लाज्मा थेरापीको नतिजा कस्तो छ ?

प्लाज्मा थरापीले सकारत्मक नतिजा दिएको चिकित्सकहरुको बुझाइ छ । बुटवलमा महिलामा गरिएको प्लाज्मा थेरापी सफल हुन सकेको थिएन । हाल अन्य तीन जनामा पनि प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ । उनीहरुको भने नतिजा सकारात्मक रहेको लुम्बिनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

बैंकमा जम्मा हुने प्लाज्मा बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका जटिल अवस्थाका संक्रमितलाई दिइने नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ का सदस्य डा. सम्राट पराजुलीले बताए ।

कसरी हुन्छ प्लाज्मा संकलन ?

संक्रमणमुक्त भएका व्यक्तिहरुको प्लाज्मा प्रयोगमा आउने हुँदा सर्वप्रथम कोरोनामुक्त भएका संक्रमितहरुको तथ्यांक संकलन गरिने डा. आचार्यले बताए । जसका लागि स्थानीय तहहरुसँग समन्वय हुनेछ ।

स्थानीय तहहरुबाट तथ्यांक लिएर संक्रमणमुक्त व्यक्तिसँग सम्पर्क गरी उनीहरुले चाहेकै ठाउँमा रक्तदान गर्ने व्यवस्था मिलाउने गरी व्यवस्थापन भएको उनले बताए । संक्रमणमुक्त भएका व्यक्तिले प्लाज्मा दिँदा उनीहरुको स्वास्थ्यमा कुनै असर नहुने र संक्रमितको ज्यान बच्न सक्ने भन्दै रक्तदान गर्न आग्रह समेत गरिएको छ ।

पहिलो पटक कपिलवस्तुमा कोरोना संक्रमणमुक्त व्यक्तिबाट रगत संकलन गरिएको छ । संकलित रगतलाई बुटवलको रक्त सञ्चार केन्द्रमा राखिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ