२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९ सद्भाव अभियान : संक्रमणमुक्त भएकाहरुका घरघरमा पुष्प गुच्छा

कोभिड-१९ सद्भाव अभियान : संक्रमणमुक्त भएकाहरुका घरघरमा पुष्प गुच्छा


बुटवल—विवेक भुषाल बुटवल उपनगरपालिकाका आइटी इन्जिनियर हुन् । उनी बुटवलको बेलवासस्थित भानुपथमा बस्छन् । कार्यालयमा काम गर्ने क्रममा उनी संक्रमित भए । उनीमात्र होइन्, उनका एक वर्षका छोरा र उनकी भान्जीमा समेत संक्रमण देखियो । उनीहरु २१ दिनसम्म होम आइसोलेसनमा बसे । उनीहरुको पीसीआर नेगेटिभ आएपछि उनीहरु घरबाट बाहिर निस्किए ।

समाजले संक्रमितहरुलाई भेदभाव गरिरहेका बेला भानुपथमा भने भावनात्मक सद्भाव देखियो । उनीहरुलाई बधाई दिन जनप्रतिनिधीसहित टोलवासीहरु पुष्पगुच्छा लिएर उनको घरमा गए । ‘समाजले हामीलाई विभेद गर्ला की भन्ने डर थियो । तर, यस्तो सद्भाव देखाउनु भयो कि हामी निकै खुसी भएका छौं,’ भुसालले भने ।

बुटवल उपमहानगरपालिका—१३ जितगढीमा पनि एकै परिवारका दुई जनामा कोरोना संक्रमण देखियो । उनीहरु पनि होम आइसोलेसनमा बसी २१ दिन पुरा गरेपछि समाजका अगुवाहरु उनीहरुको घर भित्रै गएर पुष्पगुच्छा दिए । बधाई पनि दिए र संक्रमणप्रति सजग रहन भने । ‘हामीलाई त समाजमा घुलमिल कसरी हुने भन्ने चिन्ता पनि थियो । तर आज यसरी हाम्रो घरमै आएर सद्भाव देखाउनुभयो । हामी निकै खुसी भएका छौं,’ संक्रमणमुक्त भएकी महिलाले भनिन् ।

पछिल्लो समय कोरोना संक्रमितहरुलाई भेदभाव हुने गरेको गुनासोका बीच बुटवलमा भने संक्रमण मुक्त हुनेहरुलाई घरमै पुगेर बधाई दिने अभियान नै संचालन गरिएको छ । संक्रमणमुक्त भएपछि पनि संक्रमितजस्तै व्यवहार हुने गरेको संक्रमणमुक्त भएहरुको गुनासो छ । बुटवलमा भने समाजिक अगुवाहरुको सक्रियतामा अभियान नै संचालन गरी संक्रमणमुक्त भएकाहरुलाई हौसला प्रदान गर्न थालिएको छ ।

कोरोना संक्रमणमुक्त भएपछि उनीहरुलाई समाजमा घुलमिल हुने वातावरण निमार्णका लागि सहज होस् भनेर अभियान संचालन गरिएको अभियन्ता तथा लेखक ऋषि आजाद बताउँछन् । ‘आदरणीय संक्रमित साथीहरुलाई सद्भाव र सहानुभूति दिएर समाजलाई सुचारु अनि शान्त बनाइ राख्ने काम समुदायको हो । त्यही अभियानमा हामी पनि छौं,’ उनले भने ।

संक्रमण जो कोहीलाई पनि हुन सक्ने भएकाले भेदभाव गर्न नहुने जनप्रतिनिधीहरुको भनाइ छ । रोग निको भएपछि सामान्य मानिसजस्तै हुने हुँदा समाजले अनावश्यक रुपमा विभेद गर्न नहुनेमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधी वेदप्रसाद गैरे जोड दिन्छन् । ‘हामीले सचेतनासहित संक्रमणमुक्त भएकाहरुका घर—घरमा जाने र हौसला दिने गरेका छौं,’ अभियानमा लागेका जनप्रतिनिधी गैरेले भने, ‘यसले सामाजिक सद्भाव कायम गर्न मद्दत मिल्ने हामीले विश्वास लिएका छौं ।’

कोरोना संक्रमणका कारण मानसिक रुपमा कमजोर रहेका उनीहरुमा समाजले गर्ने व्यवहारले झन पीडा दिइरहेका बेला यस प्रकारका अभियानले राहात दिने विज्ञहरुको बुझाइ छ । यसरी गरिने अभियानले अन्य संक्रमितहरुको आत्मवल समेत बलियो बनाउन पद्धत पुग्ने उनीहरुको विश्वास छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ