२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअस्पताल चहार्दा—चहार्दै कोरोना संक्रमितको मृत्यु, गम्भीर बिरामीका लागि आईसीयुको अभाव

अस्पताल चहार्दा—चहार्दै कोरोना संक्रमितको मृत्यु, गम्भीर बिरामीका लागि आईसीयुको अभाव


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना अस्पतालमा बेड अभाव हुँदा एक जना संक्रमितको मृत्यु भएको छ । पाल्पा तानसेन नगरपालिका—७ का ५२ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान पाल्पामै मृत्यु भएको हो ।

उनी तानसेनमा रहेको मिसन अस्पतालमा उपचाररत थिए । उनलाई कोभिड—१९ का जटिल समस्या देखिन थालेपछि भेन्टिलेटरसहितको आईसीयु सेवा आवश्यक थियो । हाल मिसन अस्पताल पाल्पामा आईसीयु र भेन्टिलेटर सेवा छैन ।

जसका कारण उनलाई लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेसन शाखा धागो कारखाना बुटवल ल्याइयो । आईसीयु सेवासहितको बेड अभाव हुँदा उनको बुटवलमा भर्ना हुन सकेन ।

उनलाई भैरहवा समेत लगियो । तर, भैरहवामा पनि भर्ना नलिएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा नै फिर्ता लगिएको थियो । उनको बिहिबार मिसन अस्पतालमै मृत्यु भएको मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड—१९ का विरामीले बेड भरिएका छन् । ‘हामीसँग बेड अभाव छ । कसरी राख्ने ?,’ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले भने, ‘बेड अभाव भएकाले अन्यत्र लैजान भनिएको होला ।’

मृतक पुरुषमा उच्च रक्तचाप, कलेजो रोग समेत रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ