२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब टेकु अस्पतालका निःशुल्क बेडको ३५०० र ५०० पर्ने क्याबिनको ७५०० रुपैयाँ तिर्नुपर्ने

अब टेकु अस्पतालका निःशुल्क बेडको ३५०० र ५०० पर्ने क्याबिनको ७५०० रुपैयाँ तिर्नुपर्ने


काठमाडौ– देशको एक मात्रै केन्द्रिय सरुवा रोग अस्पताल टेकुलाई समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा मोटो रकम उठाउन दबाब दिएको छ । मन्त्रालयको उक्त दबाब थेग्न नसकेर शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना संक्रमितको उपचारमा सःशुल्क गर्ने निर्णय गरेको हो ।

अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले निर्णय परिवर्तन गर्न पटक–पटक प्रयास गरेपनि सम्भव नभएकाले यस्तो निर्णय गर्नु परेको बताए । ‘टेकु अस्पताल र अन्य अस्पतालमा फरक छ,’ उनले भने, ‘हामीले टेकुको निर्णय पुनर्विचार गर्न मन्त्रालयमा अनुरोध गरेका थियौं । एक हप्तासम्म लागू समेत गरेनौं तर, निरन्तर अनुरोध भएपछि मात्रै सःशुल्कको निर्णय गरेका हौँ ।’

टेकु अस्पतालमा कोभिड अघिको उपचार अधिकांश निःशुल्क थियो । ५ वटा क्याबिन र ५ बेड आइसीयुको शुल्क न्युन मात्रै तिर्नुपथ्र्यो । क्याबिनमा बसेको दैनिक ५ सय र आइसीयु भेन्टिलेटरमा बसेको दैनिक ५ हजारसम्म तिर्नुपथ्र्यो । टेकु अस्पताल १ सय शय्या क्षमताको अस्पताल हो ।

अस्पतालका अनुसार क्याबिन बाहेकका सबै बेड निःशुल्क हुन् । यसका लागि सरकारले बर्षमा १० लाख रुपैयाँ दिन्छ । साथै, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले पनि टेकु अस्पतालको बेडका लागि धेरै रकम खर्च गर्दै आएको छ । अस्पताल स्रोतका अनुसार केन्द्रले सवा करोड रुपैयाँ अस्पताललाई तिर्न बाँकी नै छ ।

निःशुल्कका बेडमा समेत कोभिड संक्रमितको उपचार गरेको नाममा ३ हजार ५ सय लिनु आफैमा आश्चर्यको विषय भएको चिकित्सकहरू बताउँछन् । ५ सय रुपैयाँ लिने क्याबिनमा पनि ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । टेकु अस्पताल देशको एक मात्रै निःशुल्क उपचार गर्ने अस्पताल थियो । तर, १४ कात्तिकबाट त्यो अवस्था सकिएको छ । यद्यपि टेकु अस्पतालमा आउने बिरामीहरु जो सँग १ हजार रुपैयाँ तोके पनि तिर्न सक्ने क्षमता छैन ।

सरकारले हामी पैसा दिन सक्दैनौ अस्पताल चलाउने भए निःशुल्क सेवा नगर्नु भन्ने आदेश निरन्तर आएपछि मन कठोर बनाएर पैसा लिन निर्णय गर्न बाध्य भएको अस्पताल प्रशासन बताउँछ । स्वास्थ्य मन्त्रलायले बिरामीबाटै पैसा उठाएर अस्पताल चलाउन भनेपछि समस्या आएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ