२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशजोखिम भत्ता नपाएपछि डाक्टरहरुको सामूहिक राजीनामा, स्वास्थ्य सेवा प्रवाहमा समस्या

जोखिम भत्ता नपाएपछि डाक्टरहरुको सामूहिक राजीनामा, स्वास्थ्य सेवा प्रवाहमा समस्या


बुटवल—कोभिड—१९ महामारीका बेला अग्रभागमा खटिएका डाक्टरहरुले जोखिम भत्ता नपाएपछि सामूहिक राजीनामा दिएका छन् । बुटवलको कोभिड–१९ कोरोना विशेष अस्पतालमा कार्यरत ७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सकहरुको बुधबारको राजीनामाका कारण बिहिबार स्वास्थ्य सेवामा समस्या देखिएको छ ।  विगत लामो समयदेखि नै भत्ता नपाएको गुनासो गर्दै आएका चिकित्सकहरुले अन्तिम उपाएका रुपमा राजीनामा दिएका हुन् ।

चिकित्सकहरुले गत वैशाखदेखि भत्ता नपाएको गुनासो गर्दै आएका थिए । कोरोना अस्पतालका कार्यरत सबै स्वास्थ्यकर्मीलाई महामारी सुरू भएयता जम्मा ३८ दिनको मात्र जोखिम भत्ता अस्पतालले उपलब्ध गराएको छ ।

अस्थायी अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा सञ्चालित छ । राजीनामा दिनेमा ७ जना मेडिकल अफिसर छन् । अस्पतालमा ९ जना मेडिकल अफिसर करारमा कार्यरत भएपनि २ जनाले यसअघि नै अस्पतालप्रति असन्तुष्टि जनाउँदै काम छाडिसकेका थिए ।

राजीनामा दिनेमा ३ जना महिला र ४ जना पुरुष मेडिकल अफिसर रहेका छन् । दशैंअघि पनि ३ महिनासम्म मासिक पारिश्रमिक र जोखिम भत्ता नपाएपछि ९ जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालमा कार्यरत डाक्टरहरुले मानवीय धर्म तथा पेशागत दायित्वबाट भाग्न नहुने बताए । उनले समस्याको समाधान छलफल र वार्ताबाट गर्न सकिने बताए । ‘उहाँहरुको समस्या हामीले बुझेका छौं । माथिबाट नै भत्ता वापतको रकम नआएका कारण माग पुरा हुन नसकेको हो,’ उनले भने ।

कोरोना विशेष अस्पतालमा ५ वटा भेन्टिलेटर, १६ वटा मोनिटर, १६ वटा आईसीयु र ३६ वटा आइसोलेसन शैय्या छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ