२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडोनेट फर रेड जोनकी डा. रोशिना

डोनेट फर रेड जोनकी डा. रोशिना


नेपालमा यतिबेला ‘डोनेट फर रेड जोन’ भन्ने एउटा अभियान चलिरहेको छ । जसले कोभिड–१९ को रेड जोनमा खटिएका फ्रन्टलाइनरलाई फेस शिल्ड, मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउँदै आएको छ । जसको नेतृत्व गरिरहेकी छिन्—२५ वर्षीया डा. रोसिना थापा । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महाव्याधीको यो समयमा फ्रन्टलाइनरहरूलाई सहयोग गर्ने उनको यो अभियानमा अन्य तीनजना साथीहरूले सहयोग गरिरहेका छन् ।

विश्व नै कोरोना महामारीबाट आक्रान्त थियो । यो सँगै नेपाल पनि बन्दाबन्दीको अवस्थामा गयो । डा. थापा घरमा बसेर विश्वका समाचार हेरिरहेकी थिइन् । समाचारमा उनले इटली, स्पेनलगायतका देशमा चिकित्सक, नर्सहरूले कोभिड संक्रमणका कारण ज्यान गुमाएको सुनिन्, देखिन् । ती दृश्यले उनको मन कुँडियो । यस्तै, अवस्था नेपालमा आयो भने यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हालत के होला ? भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो । उनी आफैं पनि चिकित्सक भएकाले उनको मनमा यस्तो सोचले पिरोल्नु स्वभाविकै हो । उनको मन कमलो छ । अरुको दुःख÷अभाव देख्न सक्दिनन् । ‘म कसैको दुःखलाई देख्नै सक्दिनँ,’ उनी भन्छिन्, ‘मलाई सानैदेखि कसैको जीवनमा खुसी ल्याउन सकौं र कसैको ज्यान बचाउन सकौं भन्ने लाग्थ्यो ।’

यही समाजसेवी भावनाको बलले हुनुपर्छ उनी नेपालमा कोरोना संक्रमितको उपचारमा संलग्न फ्रन्टलाइनरलाई आफ्नो तर्फबाट के सहयोग गर्न सकिन्छ भनेर सोच्न थालिन् । त्यहीबेला नेपालमा स्वास्थ्य सुरक्षा सामग्री पीपीई, मास्क, फेस शिल्ड लगायतका सामग्रीको अभाव साथै यसमा भएको अनियमितता बाहिर आयो । यस्ता समाचारले उनलाई थप तनाव हुन थाल्यो । ‘महामारीका बेलामा पनि अभाव र अनियमितताको खबरले मलाई डिप्रेशनसम्म भयो,’ उनी भन्छिन् ।

त्यसपछि उनले आफ्नै खर्चमा फ्रन्टलाइनमा खटिने चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीलाई भाइजर अर्थात फेस शिल्ड उपलब्ध गराउने निधो गरिन् । तर, त्यो कसरी बनाउने ? यस बारेमा उनलाई थाहा थिएन । उनले लगत्तै विकसित देशमा फेस शिल्ड कसरी निर्माण गर्दा रहेछन् भनेर रिसर्च गर्न थालिन् । २ हप्ता लामो अनुसन्धानपश्चात् उनले थ्रिडी प्रिन्टर प्रविधिको माध्यमबाट यस्ता सामग्री निर्माण हुने पत्ता लगाएपछि त्यसको खोजीमा लागिन् । साथै, फेसबुकमा पनि यस्तो खाले प्रविधि आवश्यक परेको भन्दै स्टाटस राखिन् ।

फेसबुकमा उनको पोस्ट देखेर मेकानिकल इन्जिनियर मनिष अर्यालले आफूसँग थ्रिडी प्रिन्टर भएको जानकारी दिए । त्यसपछि अर्याललाई उनले फेस शिल्ड बनाएर फ्रन्टलाइनरलाई वितरण गरौं भन्ने प्रस्ताव राखिन् । उनको कुरामा अर्याल पनि सहमत भए । त्यसपछि उनीहरुले ‘प्रोटेक्ट नेपाल’ भन्ने अभियानमार्फत लगत्तै एक सयवटा भाइजर निर्माण गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं मेडिकल कलेज, पाटन अस्पताललगायतका अस्पतालमा वितरण गरे ।

उनको लक्ष्य काठमाडौंभित्र अस्पतालका फ्रन्टलाइनरलाई मात्र सेवा गर्ने थिएन । उनी त देशव्यापी रुपमै आफ्नो सेवालाई विस्तार गर्न चाहन्थिन् । त्यसका लागि लगानी र प्रविधिको आवश्यकता थियो । उनीहरुसँग भएको थ्रिडी प्रिन्टरबाट काम त हुन्थ्यो तर एकदमै ढिलो, एउटा भाइजर बनाउनै २ देखि ३ घन्टा लाग्ने भएकाले उनीहरुको टार्गेटअनुसार काम भएन । त्यसपछि उनी अन्य प्रविधिको खोजीमा लागिन् । त्यहीबीचमा उनको सम्पर्कमा मेकानिकल इन्जिनियर रामचन्द्र थापा आइपुगे ।

उनले पनि यस्तै काम गर्न चाहेका रहेछन् तर सोच मिल्ने साथी नपाएर बसिरहेका थिए । दुवैजनाको सोच मिलेपछि उनीहरुसँगै काम गर्ने मनस्थितीमा पुगे । थापासँग भेट भएसँगै उनीहरुले इन्जेक्सन डाइमोल्डिङ प्रविधिबाट फेसशिल्ड र मास्क बनाउन थाले । यो प्रविधिबाट दैनिक एक हजारभन्दा बढी फेसशिल्ड र चश्मा बनारहेको डा. रोसिना बताउँछिन् ।

सुरुवाती दिनमा काम गर्दै जाँदा डा. रोसिनालाई अघि बढ्न आर्थिक पाटो निकै बोझिलो बन्न थाल्यो । उनले आर्थिक सहायताका लागि स्वास्थ्य मन्त्रालयलाई गुहारिन् । तर, मन्त्रालयले उनको सेवाभावलाई नबुझेको गुनासो गर्छिन् ।

‘तँ आँट पु¥याउँछु’ भन्ने जस्तै उनले हिम्मत हारिनन् । बिस्तारै विभिन्न संघसस्थाहरूले उनको अभियानमा साथ दिन थाले । अहिले ‘प्रोटेक्ट नेपाल’ नामक अभियानमा ४० भन्दा बढी संस्थाले साथ दिएको थापा बताउँछिन् ।

यसरी सुरु भयो ‘डोनेट फर रेड जोन’

‘प्रोटेक्ट नेपाल’ अभियानमा काम गरिरहेकै बेलामा उनले ‘डोनेट फर रेड जोन’ अभियानलाई पनि सँगसँगै हाँक्ने हिम्मत कसिन् । उनले आफ्नो २५ औं जन्मदिनमा ६५ हजार रुपैयाँ छुट्याइन् । त्यसैबाट ‘डोनेट फर रेड जोन’ अभियान अघि बढाउने सोच आएको उनी बताउँछिन् । त्यो पैसाबाट उनले तत्काल ७ वटा रेड जोनका फ्रन्टलाइनर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिन् ।

बिस्तारै उनले आफ्ना नजिकका साथीभाई, आफन्तहरूको पनि साथ पाउन थालिन् । यो अभियानका लागि सुशान्त गुरुङ र साउरी गुरुङ जसले अमेरिकाबाट अहिले पनि फन्ड कलेक्सन गरिरहेका छन् भने नेपालमा उनलाई पल्लवी जोश्नाले साथ दिएकी छिन् । साथै देशभर यो अभियानमा १५ जना कर्मचारी र एक सयभन्दा बढी स्वयम्सेवक खटिएको उनी बताउँछिन् ।

यी काम गरिरहँदा उनी कोरोनाका बेला अरु के काम गर्न सकिन्छ भन्ने बारे सोच्न थालिन् । सोही बेला नेपालमा प्लाज्मा थेरापीबाट कोरोनाका गम्भीर बिरामीको उपचार हुने कुरा बाहिरियो । त्यसपछि कोरोनाका गम्भीर बिरामीलाई प्लाज्मा उपलब्ध गराउने उद्धेश्यले उनी प्लाज्मा बैंक नेपालमा संलग्न भइन् । प्लाज्मा बैंकमा लायन्स क्लब अफ काठमाडौं, दियालो, रोट्रयाक्ट क्लब अफ मेडिकल कलेज, हामी नेपाली र हाम्रो लाइफ बैंककाे संलग्न छन् ।

उक्त बैंकमार्फत हालसम्म २ सयजना भन्दा बढी कोरोनाका बिरामीलाई प्लाज्मा उपलब्ध गराएको उनी बताउँछिन् ।

काठमाडौंको पेप्सीकोलामा जन्मिएकी २५ वर्षीया थापाले प्रारम्भिक शिक्षा न्यु समिट सेकेन्डरी स्कुलबाट पुरा गरेकी हुन् भने उनले प्लस टु ट्रिनिटी कलेजमा अध्ययन गरेकी हुन् । थापाले एमबिबिएसको अध्ययन पूरा भने काठमाडौं मेडिकल कलेजबाट गरेकी हुन् । उनी अब एमडीका लागि तयारी गरिरहेकी छिन् ।

विद्यालयस्तरदेखि नै उनी नयाँ–नयाँ काम गर्न रुचाउँथिन् । विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिइन् । उनको सानैदेखि सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मन थियो । त्यसो त उनले सन् २०१८ मा मिस फेमिना इन्टरनेशनलमा भाग लिइन् । जसमा उनी सेकेन्ड रनर अफ भइन् भने मिस क्रियटिभ टाइटल जितेकी थिइन् ।

रोट्रयाक क्लबमा पनि सक्रिय रहेकी उनी रोट्रयाक क्लब अफ काठमाडौं मेडिकल कलेजकी अध्यक्ष समेत हुन् । उनले रोट्रयाक क्लब अफ नेपालबाट आउटस्ट्याडिङ प्रेसिडेन्ट अफ रोट्रयाक नेपाल एवार्ड समेत जितेकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ