काठमाडौं—नेपालमा थप ६ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमध्ये २ सय ३७ जना महिला र ३ सय ७१ जना पुरुष रहेका छन् । यससँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्या घट्दै गएको देखिन्छ ।
सबैभन्दा बढी कोरोना प्रभावित बनेको काठमाडौं उपत्यकामा शुक्रबार मात्र २ सय ७९ जना संक्रमित थपिएका छन्। जसमध्ये १ सय १५ जना महिला र १ सय ६४ जना पुरुष रहेका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा ८ सय ९२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ४८ हजार २ सय ९२ जना रहेका छन् । निको हुने दर नेपालमा ९६. ५ प्रतिशत रहेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ८ सय १६ जना संक्रमितको मृत्यु भैसकेको छ ।